जोमसोम / जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले मुस्ताङको जोमसोममा दुई दिने राष्ट्रियस्तरको जलवायु परिवर्तन सम्मेलन सुरू भएको छ ।
संघिय सरकारकी कृषी, वन तथा पर्यावरण मन्त्री गीता चैधरीले जोमसोममा विश्वमानचित्रके अंकित वेलुन अनावरण गरी ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३’ उद्घाटन गरिन ।
घरपझोङ गाउँपालिकाको आयोजनामा आजदेखि जोमसोमस्थित कभर्ड हलमा सुरू भएको सम्मेलनमा देशभरका महाँनगर, उपमहानगर, नगरपालिका र गाउँपालिकासमेत ४३१ पालिका र ४१ जिल्ला समन्वय समितिका स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू र जलवायु क्षेत्रका विषयगत विज्ञहरूको सहभागिता रहेको छ ।

सम्मेलनमा जलवायु परिवर्तनबाट हिमाली क्षेत्र परिरहेका बेला स्थानीय तहहरूमार्फत एकीकृत आवाज उठाउन यो सम्मेलन आयोजना गरिएको आयोजक घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनले बताए ।
सम्मेलनमा हिमनदी पग्लिने दरमा भएको वृद्धि, फुट्ने जोखिममा रहेका हिमताल, हिमरेखा तथा रुख रेखाको उचाइ सर्दै जाँदा निम्तिएका पारिस्थितिक प्रणालीका सङ्कटबारे गहन छलफल चलिरहेको छ।

पूर्वानुमान गर्न नसकिने बेमौसमी हिउँ पहिरो, सुक्खा पहिरो, खानेपानी तथा सिँचाइ सङ्कट र यसले स्थानीयको कृषि, पशुपालन एवं पर्यटनमा आधारित जीविकोपार्जनमा पारेको नकारात्मक असरबारे अनुभव आदानप्रदान गर्दै देशभरका जनप्रतिनिधि र विज्ञहरूले जलवायु परिवर्तनका कारण सिर्जित प्रकोप र असरहरूको पहिचान गर्दै अनुकूलनका उपाय एवं रणनीतिका विषयमा साझा खाका तयार पार्ने कार्यक्रम छ ।
सम्मेलनको अन्तिम दिन भोली बुधवार पवित्र कालीगण्डकी नदीको तट र निलगिरि हिमालको काखबाट हिमालीपारिका स्थानीय तहहरूको एकीकृत ‘जलवायु परिवर्तन सम्बन्धी घरपझोङ घोषणापत्र-२०८३’ जारी गर्ने कार्यक्रम छ।






