पर्वत/एकीकृत सेवा कार्यालय पर्वतमा साङ्केतिक भाषा दोभाषे सेवा सहितको अपाङ्गता सहायता कक्षको स्थापना गरिएको छ ।
साङ्केतिक भाषाको सिप भएको कर्मचारको व्यवस्थापन गरी अपाङ्गता भएका व्यक्तिलाई कार्यालयबाट सहज र सरल रुपमा सेवा प्रवाह गरी उनीहरुको अधिकार सुनिश्चित गर्न र भेदभावरहित वातावरणमा सेवा दिन सहायता कक्ष स्थापना गरिएको हो ।
यसैबीच, कार्यालयले अपाङ्गता क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि र सरोकारवालासँग गत आर्थिक वर्ष २०८२/८३ मा अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा सम्पादन गरेका क्रियाकलापको समिक्षा तथा आगामी आ.व. २०८३/८४ मा सम्पादन गरिने कार्यक्रमको प्रभावकारीताको विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुको लागि गर्ने कार्यक्रमबारेमा समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा कार्यालयका प्रमुख जीवन पौडेलले आगामी वर्ष पनि अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित कार्यक्रमको साथै अन्य कार्यक्रममा पनि प्राथामिकता दिएर सञ्चालन गरिने बताए । उनले यसवर्ष बौद्धिक अपाङ्गता, अटिजम, मस्तिष्क पक्षघात तथा डाउन सिन्ड्रोम भएका बालबालिकाका आर्थिक अवस्था कमजोर भएका अभिभावकको हेरचाह र शिक्षण सिकाइमा सहयोग पुर्याउने गरी अनुदान वितरण गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा नेपाल अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्मा, पर्वत नेत्रहिन संघका अध्यक्ष हरिदत्त शर्मा, बौद्धिक अपाङ्गता भएकाहरुको अभिभावक संघका अध्यक्ष गणेश सुवेदीलगायतले सरकारले अपाङ्गता भएका व्यक्ति र तिनमा परिवारको सशक्तिकरण र सहायताका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यालय प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख घनराज केसीले गरेका थिए ।





