आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीमा २ हजार ३ सय ११ मा डेंगु संक्रमण

गण्डकीमा २ हजार ३ सय ११ मा डेंगु संक्रमण


  • ढोरपाटन संवाददाता
  • असोज १ २०८३, बिहिबार

पोखरा/गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म २ हजार ३ सय ११ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।मनाङमा यस वर्ष अहिलेसम्म डेंगुको संक्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

गत जुलाइपछि डेंगु संक्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताए । गत जेठ र असारमा ४ सय १५ जनामा संक्रमण पुष्टि भएकामा साउनमा त्यो संख्या बढेर एक हजार २ सय ४७ पुगेको थियो । भदौ लागेयता ३ सय ८२ जनामा डेंगुको संक्रमण देखिएको छ ।

पछिल्लो हप्ता सेप्टेम्बर ७ देखि १३ भित्रमा २ सय २८ जनामा संक्रमण पुष्टि भएको केन्द्रका निर्देशक मिश्रले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी बागलुङमा १ सय ७० जनामा संक्रमण देखिएको छ । सोही अवधिमा कास्कीमा २०, पर्वतमा १६, म्याग्दीमा ७, गोरखामा ६, स्याङ्जा ४, तनहुँ ३ र लमजुङमा २ जनामा उक्त संक्रमण पुष्टि भएको थियो ।

‘अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ’, निर्देशक मिश्रले भने, ‘जोखिम भने कायमै रहेकाले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिनुपर्छ ।’ प्रदेशभरिमा बागलुङ नगरपालिका डेंगुबाट सबैभन्दा बढी प्रभावित भएको उनको भनाइ छ । पछिल्लो हप्ता सङ्क्रमण पुष्टि भएका २२८ मध्ये ५७ जना त्यस नगरपालिकामा रहेका छन् ।

बागलुङपछि पोखरा महानगरपालिकालगायत स्थानीय तहमा संक्रमण बढी देखिएको छ ।प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले डेंगु संक्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताए ।समयमा नियन्त्रण र रोकथाम गर्न नसके डेंगुले प्रकोपको रुप लिने उनको भनाइ छ ।

डेंगु फैलाउने लामखुट्टेको बासस्थान नष्ट गरी जीवनचक्र खल्बल्याउन कास्कीलगायत अन्य जिल्लामा पनि उक्त अभियान सञ्चालन गरिएको छ । डेंगु नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्ने प्रमुख शर्माले बताए । डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ ।

डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रममा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गनुपर्ने चिकित्सकको सुझाव छ । उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने उत्तम उपाय भएको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->