पोखरा/पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा क्षमता थपिएको छ । प्राकृतिक विपद्, दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शवलाई लामो समयसम्म सुरक्षित राखी व्यवस्थापन गर्न अस्पताललाई पोर्टेबल मर्चरी हाउस (शव गृह) हस्तान्तरण गरिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमा जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आह्वानमा मर्चरी हाउस निर्माण गरिएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले मर्चरी हाउसको चाबी अस्पतालको फरेन्सिक विभागका प्रमुख डामदन बराललाई हस्तान्तरण गरे ।
नयाँ शवगृहमा एक पटकमा २४ वटा शव महिनौँसम्म सुरक्षित राख्न सकिने व्यवस्था छ । हाल अस्पतालमा पोस्टमार्टमका लागि ७२ वटा शव राख्न सकिने ठाउँ छ भने ४ वटा शव राख्न मिल्ने कोल्डरुम छ ।
भोटेकोशीमा आएको बाढीपछि कास्की पठाइएको एक सय दुई शव व्यवस्थापन गर्न सकस परेपछि यहाँको शवगृहको क्षमता थप गरिएको हो । पछिल्लो समय शव व्यवस्थापनको जिम्मेवारी आइपरेपछि त्यसबाट सिकेर नयाँ शवगृह निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट करिब तीन लाख पर्ने कन्टेनर उपलब्ध भएपछि त्यसलाई आवश्यक मर्मत तथा निर्माण गरी थप नौ लाख ६५ हजार खर्चेर मर्चरी हाउस निर्माण गरिएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेलले सुनाए ।
यो आवश्यकताअनुसार प्रदेशका विभिन्न स्थानमा लैजानसमेत मिल्छ । शवगृह निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा कार्यकारिणी सदस्यहरूबाट दुई लाख ४९ हजार दुई सय ९५ रुपैयाँ, पर्वत उद्योग वाणिज्य संघबाट ५१ हजार रुपैयाँ, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघबाट ५१ हजार रुपैयाँ, नागरिक परोपकार समन्वय संस्था कास्कीबाट ५१ हजार रुपैयाँ, अन्तर्राष्ट्रिय नेपाल युवा उद्यमी महासंघ गण्डकी प्रदेशबाट ५० हजार रुपैयाँ, एनवाइइएफ पोखराबाट दुई लाख रुपैयाँ, होटलियर्स क्लब पोखराबाट एक लाख एक हजार एक सय ११ रुपैयाँ र सामुदायिक प्रहरी सेवा केन्द्रहरूबाट दुई लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको फरेन्सिक विभागका प्रमुख डा मदन बरालले नयाँ शव भण्डारण कक्षले लामो समयसम्म शव सुरक्षित राख्न सहयोग पुग्ने उल्लेख गरे ।





