पर्वत / तेस्रो दिनसम्म पनि लगातार वर्षा भएपछि सुरक्षा सतर्कता अपनाउँदै जिल्लमा शनिवार साँझ छ बजेदेखि आइतबार बिहान छ बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले मौसम पूर्वानुमान महाशाखाको चेतावनीलाई उल्लेख गर्दै पर्वत जिल्ला पनि प्रतिकार्य गर्ने जिल्लाको रूपमा रहेकोले सतर्कता तथा पूर्व तयारी स्वरूप सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । असोज आठ गतेदेखि सुरु भएको वर्षा निरन्तर रूपमा तेस्रो दिनमा आइपुग्दा समेत एकनासले जारी नै रहँदा जोखिम बढेपछि सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताए ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आकस्मिक तथा अत्यावश्यक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय पर्वत तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । प्रशासनले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न तथा सम्भावित जोखिमबाट सुरक्षित रहनसमेत अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको चेतावनीअनुसार पर्वतसहित गण्डकी प्रदेशका केही जिल्लामा भारी वर्षाको जोखिम कायमै रहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढ्नुका साथै पहिरो र सडक अवरोधको जोखिमसमेत बढ्न सक्ने देखिएको छ । प्रशासनले मौसमको अवस्था हेरेर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । लगातारको भारी वर्षाका कारण पर्वतमा जनजीवन प्रभावित बनेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिवार जारी गरेको चेतावनी नक्सामा पर्वत जिल्ला ‘प्रतिकार्य गर्नुपर्ने’ रातो क्षेत्रमा परेको छ । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा पर्वत सदरमुकाम कुश्मा बजारमा १०३.४ मिलिमिटर तथा कार्कीनेटामा १३८ मिलिमिटर वर्षा मापन भएको छ । निरन्तरको भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध तथा अन्य विपद्का जोखिम बढेको छ ।





