बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडपर्व अघिनै सबै राजमार्ग खुलाउने, भत्के बिग्रेका पुल बनाउने र यातायात सहज बनाउने बताएका छन् ।
कालीगण्डकी नदीले क्षतविक्षत बनाएको पर्वतको जलजला गाउँपालिका वडा नं. ७ लस्ती बजारको अवलोकन गरेपछि पाण्डेले आम नागरिकलाई सहज वातावरण बनाउने, घरबार नभएकालाई बस्ने बास दिलाउने काम गरिने पनि बताए ।
उनले अस्थायी रुपमा पहिलो चरणमा बसोबासको व्यवस्थापन र यातायात सञ्चालन गर्न स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा काम सक्ने बताए । ‘बाढी पीडितको अवस्था देखेपछि तत्काल गर्ने र दिर्घकालिन रुपमा गर्ने कामको प्राथमिकता गरेको छु’ पाण्डेले भने, ‘पीडितले तत्काल खानेबस्ने व्यवस्था पाउनुपर्छ, त्यो हामीले व्यवस्थापन गरिसकेका छौं ।’
लस्ती बजारमा बाढीले ३० घरमा पूर्ण क्षति भएको छ भने थप ४० घरमा आंसिक क्षति पुगेको छ । डेढसय बढी स्थानीय प्रत्यक्ष मारमा परेका छन् । तत्काल ती घर मर्मत गरेर बस्न सकिने अवस्था छैन । बगेका घरहरु पनि सोही स्थानमा बन्ने संभावना नरहेको वडा अध्यक्ष हरिविकास जिसीले बताए । कतिपय घरमा अहिले नदीको बगर बनेको छ । माथिल्लो स्थानमा रहेको झोलुङ्गे पुल बगेपछि स्थानीय आउजाउमा समस्या भएको छ ।
स्थानीय बिमला थापाको घर सबै बगेको छ । पतिको निधनमा काजक्रियामा बस्दा उनको घर बग्यो । संयोगले उनी र छोराछोरी बाँचेका छन् । माथिल्लो गाउँको प्लाष्टिक टनेलमा बसेको उनले बताइन् । इन्द्रबहादुर केसीले १० वटा भैंसी रातीनै खेदेर सुरक्षित स्थानमा लैजान सकेको बताए । उनको घर बचाउन सकेनन् । उनको छाप्रो घरमा बाढी पसेर सबै सामान नष्ट भयो । गोठ पुरियो । घर हिलाम्मे छ । ‘भैसी त बचाएँ, घर बचेन’ उनले भने, ‘रातभर नसुतेकोले बाँचियो, नत्र हामी पनि बग्ने रहेछौं ।’
यो क्षेत्र कृषि र पशुपालनको उर्भर स्थान हो । यहाँका किसानले दैनिक सयौं लीटर दूध उत्पादन गरेर बागलुङ र बेनीमा पठाउने गर्छन् । दैनिक तरकारी बेचेर धेरैले गुजारा गरेकोमा बाढीपछि खेतबारी समेत बगेर किसान चिन्तित भएका छन् ।
कालीगण्डकीमा आएको बाढीले पर्वतको नयाँपुलदेखि मालढुंगा हुँदैै बेनी सम्मको सबै सडक क्षतविक्षत बनाएको छ । सबै सडक एक साताभित्र खोलेर यातायात सहज बनाउने पाण्डेले बताए । चाडपर्व आएकोले जनताले सास्ती भोग्न नपर्ने गरी काम गरिने पाण्डेको भनाइ थियो । सोमबारदेखिनै सडक डिभिजनका प्राविधिकहरुले सडकको काम थालिसकेका छन् ।





