शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्यटकीय गन्तव्य पञ्चकोट एक सय गन्तव्यमा

पर्यटकीय गन्तव्य पञ्चकोट एक सय गन्तव्यमा


  • Dhorpatan News
  • फाल्गुन ५ २०७५, आइतबार

बागलुङ, ५ फागुन – जिल्लाको पञ्चकोट एक सय पर्यटकीय गन्तव्यमा समाबेश भएको छ । सरकारले घोषणा गरेका नयाँ पर्यटकीय गन्तव्यमा गण्डकी प्रदेशका दुई पर्यटकीय स्थल थपिने क्रममा पञ्चकोट नयाँ गन्तव्यमा थपिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि यस अगाडि घोषणा गरेका एक सय पर्यटकीय गन्तव्यमा गण्डकी प्रदेशका दुई स्थल थपिएका हुन् । सरकारले सन् २०२० मा मनाउँन लागेको ‘नेपाल भ्रमण वर्ष’लाई लक्षित गरी यसअघि घोषणा गरेका स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्य र नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यहरुमा बागलुङको पञ्चकोट र कास्कीको काहुँ धरहरा–पञ्चासे क्षेत्रलाई नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यको रुपमा सूचिकृत गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जानकारी दिए ।

नेपाल पर्यटन वर्ष–२०२० मा २० लाख पर्यटक भित्राउँने लक्ष्यअनुसार सरकारले पर्यटकीय गन्तव्यहरुको सूचीकरण गरी त्यहाँको भौतिक विकासमा लगानी बढाइने मन्त्री अधिकारीले बताए । यसअघि पर्यटकीय गन्तव्यको घोषणा गर्दा गण्डकी प्रदेशकै प्रसिद्ध पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको पञ्चकोट छुट्न गएपनि मन्त्रालयले सही निर्णय गरेको बागलुङका सांसद डा. सूर्य पाठकले बताए । ‘पञ्चकोट बागलुङको मात्र नभई समग्र प्रदेशकै पहिचानको विषय हो, कमलनयनाचार्यको अगुवाईमा यहाँ निर्माण भइरहेका संरचनाहरुले धेरैको ध्यान तान्न सफल भएको छ, यहाँ आउँने पर्यटकहरुको संख्यापनि बृद्धि हुँदै गएकाले मन्त्रालयले गरेको निर्णयले यसको विकासमा थप मद्धत पुग्नेछ ।’ सांसद डा. पाठकले भने । अहिले पञ्चकोट समग्र बागलुङको पहिचान बनेकाले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको होटल व्यवसायी अर्जुन चोखालले बताए ।

‘बागलुङ घुम्न आउँने पर्यटकहरु एकै दिन प्रसिद्ध बागलुङ कालिका मन्दिर र पञ्चकोटको दर्शन गर्न पाउँने अवस्था रहेको छ, पञ्चकोटमा निर्माण भइरहेका पर्यटकीय संरचना तथा त्यहाँसम्मको सहज सडक विस्तारले पोखरा, मुक्तिनाथ, कालिका मन्दिरमा आउँने पर्यटकहरुको आकर्षणमा पर्ने गरेको छ ।’ होटल व्यवसायी चोखालले भने । विश्वकै अग्लो एक सय आठ फिटको विश्वशान्ति कलश, पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट निर्माणको चरणमा रहेको उक्त स्थानमा अहिले गरुडसिला, विभिन्न मठ मन्दिरहरु निर्माण भइसकेका छन् । बागलुङ बजारदेखि आठ किलोमिटरको दुरीमा रहेको उक्त स्थानबाट उच्च हिमश्रृङ्खला, प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिने भएकाले सामान्य अवस्थामा पनि सयौं पर्यटकहरु त्यहाँ पुग्ने गरेको नारायण आचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->