काठमाडौं,१३ चैत – शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सरकारले जनाएको छ। लगानी सम्मेलन सफल बनाउन अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा. युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको र त्यसले सम्पूर्ण तयारी पूरा गरेको बुधबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए।
सम्मेलनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने छन् ।सम्मेलनमा चालिस देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित ५ सय जना विदेशी लगानीकर्ताको उपस्थिति रहने सरकारले जनाएको छ । सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपाल स्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैह्रअवासीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने अर्थमन्त्री डाक्टर खतिवडाले जानकारी दिए ।
सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गर्ने सरकारको तयारी रहेको छ । सम्मेलनमा १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने बताईएको छ ।
सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्जजनिक निजी साझोदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन गरिसकेको सरकारले जनाएको छ । सम्मेलनमा विश्वप्रसिद्ध कम्पनीका उच्चपदस्थ प्रतिनिधिहरुको उपस्थिति रहने सरकारले जनाएको छ । सम्मेलनको पहिलो दिन नेपाल सरकारले लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुति दिनेछ । त्यसैगरी नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभवसहित विषयगत सत्रहरु संचालन गर्ने सरकारको तयारी छ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुने सरकारले जनाएको छ ।





