शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पूर्वस्ववियू सदस्यको पहलमा जनवादी गायक पदमलाई सहयोग

पूर्वस्ववियू सदस्यको पहलमा जनवादी गायक पदमलाई सहयोग

जता पनि साथी नै ठोक्किने : गिरी


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७५, शुक्रबार

पोखरा, १५ चैत – प्राध्यापक महेन्द्र गुरुङ आफ्ना साथी पदमबहादुर नेपालीबारे बोल्दैगर्दा एकाएक भक्कानिए ।
अनि उनले काठमाण्डौँमा कुनैदिन सागको तरकारी पाकेको प्रसङ्ग निकाले । पदमबहादुरले सागको तरकारी किन्नै हैसियत गुमाएका थिए । घरमा साग पाक्यो ।
उनले छोरीलाई सोधेछन्,‘छोरी साग कहाँबाट आयो ?’
छोरीले उत्तर दिइछन्,‘ हामीसँग किन्ने पैसा थिएन, पशुपतिजाँदा बाटोछेउको टिपेको हो ।’
बाबुको मन न हो, कति रोए होलान्, पदमबहादुर !
हुँदाखाँदाको शरीरलाई करिब ६ वर्षअघि एक्कासी मष्तिष्कघातले ढाल्यो । लामो अस्पताल बसाईले उनले नयाँ जीवन त पाए तर भएका जागिरहरु गुमाए । काम गर्न नसकेपछि घरको चुल्हो चिसो भयो ।
तनहुँ ढोरफिर्दीका पदमबहादुर र महेन्द्र सँगै पृथ्वीनारायण कलेज पढ्थे । पढाईमा तेज थिए, पदम । मालेपाटनतिर डेरा थियो । तर, एकदिन उनी मध्यरातमा क्याम्पसको होष्टलमा आए । घरबेटीले सानो जात भएकाले उनका सामानहरु बाटोमा फालेर घरबाटै निकालिदिएछ । महेन्द्रले उनलाई होष्टलमै राखे । होष्टलमा बस्दा उनी वामपन्थी राजनीतितिर मोडिए । समाज परिवर्तनको हुट्हुटीले उनी जनसाँस्कृतिक मञ्चमा आवद्ध भए अनि क्रान्ति र परिवर्तनका गीत गाउन थाले । सोचेको परिवर्तन आयो तर समाज बललिएन । पृथ्वीनारायण क्याम्पसबाट स्नातक गरे । काठमाण्डौँ विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नातकोत्तर सकाउँदा उनी दोस्रो बने । ‘हामी परिवर्तनका कुरा गर्छौँ तर पदम जातकै कारण माथि आउन सकेन, राम्रो पढाई भए पनि उसले राम्रो जागिर पाएन’, महेन्द्रले सुनाए,‘ऊ काठमाण्डौंका बिभिन्न ठाउँमा काम गथ्र्यो तर राम्रो कहीँ भएन ।’
एकातिर पदम थलिएका थिए, अर्कोतिर भुईँचालाले उनको तनहुँ डोरफिर्दीको नहरेमा रहेको घर ढलायो । घर उठाउने ताकत उनीसँग थिएन । बरु, उनी आफूभने उठे । योगा र आत्मविश्वासले उनी दैनिक १२ किलोमिटर हिँडन सक्ने र राजधानीको चावहिलमा रहेको श्रम राष्ट्रिय माविमा पढाउन सक्ने भए । अस्थायी शिक्षक हुन्, उनको जागिर जाँदैछ । जागिर गएपछि उनको बाँँच्ने आधार पनि सकिने छ । यो सबै दुःखकाबीच पनि उनले कसैसँग हात भने फैलाएनन् ।
५२ वर्षीय पदमले एकदिन आफ्नो कथा साथी महेन्द्रलाई सुनाए । महेन्द्र रोएनन् मात्रै,सहयोगको लागि कम्मर कसेर लागे । उनीहरुले पदमलाई तत्काल केही सहयोग जुटाए, पदमको मुहारमा केही खुसी ल्याए अनि थप सहयोगको लागि ‘अ ड्रप अफ स्माइल’ नामक संस्था नै गठन गरे । काम हुँदै थियो, त्यस्तैमा अर्को मोड आयो !

महेन्द्र संयोगले हङकङ पुगे । हङकङमा पृथ्वीनारायण क्याम्पस पढेका विद्यार्थीहरुको संगठन एक्स पिनएन हङकङ विद्यार्थी संगठनका अध्यक्ष विरोध गुरुङसँग भेट भयो । महेन्द्रले आफूलाई हैन, साथी पदमलाई सहयोग गर्न अनुरोध गरे । वामपन्थी विचारधाराका विरोध पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियू सदस्य पनि थिए । महेन्द्रको मुखबाट जनवादी गायक पदमबारे सुनेका उनले सहयोग रकम संकलन गर्ने निधो गरे । पदमको घर बनाउने अभियानको लागि त्यहाँ केही रकम पनि उठ्यो ।
आफू पोखरा फर्केको मेसोमा त्यहाँ संकलित रकम बोकेर आएका विरोधले बिहीबार सानो उपस्थितिमा १ लाख ८५ हजार रुपैयाँ पदमलाई थमाए । ‘उहाँले संगीतमार्फत दिएको सन्देशले हामी वामपन्थी आन्दोलनमा लागेका हौँ’,उनले भने,‘अहिले यो सहयोग जुटाउन र हस्तान्तरण गर्न पाउँदा खुसी छु,दाईको जीवनयात्रा हिक्मतका साथ अगाडि बढोस् ।’

जता पनि साथी नै ठोक्किने : गिरी
संघीय संसदका सदस्य पदम गिरीले पार्टीभित्रको सुधारले मात्र दुई तिहाईको सरकारले चाहेजस्तो काम गर्नसक्ने बताएका छन् ।
उनले काम गर्न खोज्दा आफ्नै दलका कार्यकर्ताहरुका कारण अवरोध आउने गरेको पनि खुलासा गरेका छन् ।
‘दुई तिहाई भनेको हामीसँग दुई तिहाई जनता छन्, तर सोचेजस्तो भएको छैन’, सहयोग रकम हस्तान्तरणको लागि बिहीबार पोखरामा आयोजित कार्यक्रममा उनले भने,‘ यातायात जाउँ हाम्रै मान्छे ठोक्किन्छन्, अर्को ठाउँ जाऊँ,त्यहाँ पनि हाम्रै मान्छे ठोक्किने, अनि कसरी काम हुन्छ ?’ उनले कर्मचारीतन्त्रलाई सही बाटोमा लैजान खोज्दा त्यहाँ भएको दुई तिहाईकै कर्मचारी युनियनले समस्या पार्ने गरेको सुनाए । पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियू सभापनि पनि रहेका उनले पनि पदम नेपालीलाई सक्दो सहयोग गर्ने वचन दिए । ‘स्वाभिमानी मान्छेले आफ्नो पीडा भन्दैन, पदम दाई त्यस्तै मान्छे हो’, उनले भने,‘अब म निरन्तर उहाँसँग हुनेछु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->