बागलुङ, १६ चैत – नेताको भाषण, सामाजिक समस्या र देशबिदेशका कथा लेखेर पत्रपत्रिकामा छाप्ने, विद्युतीय संचार माध्यममा प्रसारण गर्ने पत्रकारका कथा कसले सुनिदिने ? अरुका कथा लेख्न चासो गर्ने पत्रकारहरुले आफ्नै भोगाईका कथाका बिषयमा खासै चासो राखेका थिएनन् । तर शुक्रवारको एउटा कार्यक्रम त्यो भन्दा फरक प्रसंग थियो । नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवशको अवसरमा आयोजित एक कार्यक्रमको मंच र अनुभव फरक भयो । पाँच पत्रकार, पाँच अनुभव भन्ने व्यानरमा भएको अन्तरसम्बाद कार्यक्रमको मंचमा पनि पत्रकार थिए । दर्शक दिर्घामा पनि पत्रकार ।
अग्रजहरुले काम गर्ने शिलशिलामा भोगेका अनुभवले दोश्रो पुस्ता र केही पुरानै पुस्ताका पत्रकार ध्यानपूर्वक सुनेर बसेका थिए । कार्यक्रममा बागलुङमा लामो समय पत्रकारितामा बिताएका पाँच जना पत्रकारहरुले आफ्ना अनुभव सुनाए । कार्यक्रममा आफ्ना अनुभव बाड््न सुरुमा पालो पाएका ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहराले आफ्नो अनुभवको कुटुरो अभावका कारण हकरबाट थालेको कामबाट फुकाए । महिनाभर काम गरेर १ हजार २ सय रुपैयाँ तलब पाउनका लागि गरेको मेहेनत, खानकै लागि गरेको संघर्ष, पत्रकारिताकै क्रममा अनुसन्धान पत्रकारिता, डेक्समा बसेर गर्ने काम र सिंगो पत्रिकाको जिम्माले हुने तनावबारे बोलेका थिए । ‘डराएर पत्रकारिता हुँदैन, खोजीलाई निरन्तरता दिनुपर्छ’ बोहराले भने, ‘सुशासनका लागि पत्रकारका कलम चल्नुपर्छ ।’ उनले हकरदेखि सम्पादक बनेको अनुभव सुनाए ।
कान्तिपुर दैनिकका उप–सम्पादक प्रकाश बरालले उपचारमा लापरवाही भएको समाचार लेख्दा अस्पतालका निर्देशकले दिएको धम्कीदेखि समाचारकै कारण डाक्टर बनेका घटनासुनाउँदा नयाँ पुस्ता भावुक देखिन्थे । समाचारले समाजमा परिवर्तन ल्याउन सहयोग पुग्नेकुरा उनको अनुभवमा थियो । सशष्त्र द्वन्द्वकालमा भोग्नुपर्ने त्रासदीपूर्ण घटनाका अनुभवलाई उनले सुनाए ।महिला पत्रकारहरुलाई पनि काम गर्न यस्तै कठिन छ । समाचार लेखनकै क्रममा धेरै समस्या आएको कुरा पत्रकार कोपिला कंडेलले सुनाईन् । महिला भएकै कारण हुने समस्या र सामुहिक रुपमा पाईने समस्या उनका कथामा समावेश थिए । पत्रकार रामकृष्ण शर्माले पनि चुनौतीको सामना गर्दै समाचार लेखेको कुरा सुनाएका थिए । द्वन्द्वकालका घटना, सुशासनका लागि चालिएको अभियानमा धम्की पाउने देखि अवसर भेट्ने धेरै काम भएको उनले बताए । पूर्व अध्यक्ष समेत भैसकेका राजेशचन्द्र राजभण्डारीको अनुभव फरक थियो । दर्जनबढी पत्रपत्रिका र टेलिभिजनमा समेत काम गरेका राजभण्डारीले साना तिना डरधम्कीले पत्रकार डराउन नहुने बताउँछन् । दैनिक परीक्षणमा रहने पेशामा पत्रकारिता पर्ने उनले बताए । त्यसैले जहिले सम्म सक्रियता रहन्छ तवसम्म चुनौती आइरहने भन्दै सूचना संकलनमा भने सक्रिय बन्नैपर्ने उनको भनाई छ ।
नेपाल पत्रकार महासंघले यस्ता अनुभवबाट नयाँ पुस्तालाई काम गर्ने प्रेरणा मिल्ने, एक पटक पछाडी फर्केर आफ्नै समीक्षा गर्ने र नयाँ अवसरको खोजी गर्ने अवसर मिल्ने अध्यक्ष दिल शिरिषले बताए । यो शुरुवात मात्र भएको भन्दै शिरिषले धेरै पत्रकारको अनुभवहरु क्रमश सुन्ने र थप परिस्कृत पत्रकारितामा लाग्दै जाने अभियान चलाउने समेत उनको भनाई थियो । महासंघका अध्यक्ष दिलशिरिषको अध्यक्षता, सचिव राम थापा अविरलको संचालन र कोषाध्यक्ष बिजय रानाको स्वागतमा सम्पन्न कार्यक्रममा पाका पत्रकारहरु दुर्गादत्त आचार्य, विश्वनाथ रेग्मी र महासंघको जापान शाखाका कोषाध्यक्ष राजबिन थापाले पनि आफ्नो अनुभव सुनाए । महासंघले स्थापना दिवशकै अवसरमा प्रभातफेरी, स्वास्थ्य परीक्षणका कार्यक्रम राखेको शिरिषले बताए ।





