बागलुङ/असोज ११ गते बगेको काली गण्डकी नदीको पुल मर्मत पछि संचालनमा आएको छ । १६ दिनपछि सोमबार पुलमा दोहोरो सवारी चल्न थालेका छन् । यतिन्जेल यो पुलमा मानिस पनि आउजाउ गर्न सकेका थिएनन् ।
पुल बग्दा बागलुङ जिल्लाबाट पोखरा, पर्वत लगायत राजधानी सम्म सिधा सवारी आवागमन रोकिएको थियो । सोमबार बिहान ११ बजे पहिलो चरणको मर्मत पुरा भइ सडक संचालनमा आएको छ । १६ दिन देखि सडक डिभिजन कार्यालय पोखरा, नेपाली सेना, स्थानीयबासी र बागलुङ तथा पर्वतको बिपत व्यवस्थापन समितिले निरन्तर काम गर्दा यो सफलता मिलेको बरिष्ठ डिभिजन इन्जिनियर कृष्णराज अधिकारीले बताए ।
यो पुलमा सवारी चलेपछि काम भने धेरै बाँकी छ । पुलको दिगो व्यवस्थापनमा भने तिहार पछि काम गरिने अधिकारीले जानकारी दिए । आवागमन नै बन्द भएको र चाडपर्व आएकोले तत्काल खुलाउने दवाका बीच सोमबार सवारी चलाइएको हो । पानीको सतहदेखि २४ मीटर अगलो पर्खाल लगाएर पुलको सतहमा बाटो ल्याइएको हो ।
पानीको सतह नघटेका कारण पुलको जग बसाल्न कठिन भएको थियो । शुरुका दिनमा सामाग्री समेत बगेर हैरान भएको निर्माण टोलीले तेस्रो दिनदेखि मात्र कामलाई गति दिन सकेको थियो । माथिल्लो खण्डमा आएपछि भने काम छिटो सकिएको हो । ग्याबिन जाली सहितको पर्खालमा चिप्स भरेका बोरा, रबरका खोल समेत राखेर पहिरो नखस्ने बनाइएको छ । पहिलेकै अबस्थामा ल्याउन पानीको सतह अझै घटेपछि सुरक्षित पर्खाल लगाएर पुलकै पिलरमा बगेको पानी हटाउनुपर्ने उनले बताए । पहिलो चरणमा झण्डै २ करोड खर्च भएको उनले अनुमान गरिएपछि डिभिजनले हिवाव सार्वजनिक गरेको छैन ।सडक डिभिजन कार्यालय पोखरा मार्फत यो काम भएको हो ।
सोमबार जिल्लाका प्रशासक तथा जनप्रतिनिधि समेत मालढुंगा पुगेर सवारीलाइ स्वागत गरेका थिए भने बागलुङ नगरपालिकाले निर्माणमा खटिएको टोली, सघाएको नेपाली सेना र स्थानीय प्रहरीलाई सम्मान गरेको थियो ।





