काठमाडौं, २१ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेट तयार गर्दा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहन मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन । विहिवार विहान सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले एउटा कार्यक्रम एउटा सरकारले मात्रै गर्नुपर्ने वताउदै भने-कुनै पनि कार्यक्रम एउटा मात्रै तहले सञ्चालन गर्नुपर्दछ ।
‘कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र तहले मात्रै सञ्चालन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भने ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मूख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुँदाको कार्यन्वयन तदारुकताका साथ गरिने बताए । प्रधानमन्त्री ओलीले आँधी पिडित बारा र पर्साकाका बासिन्दालाई राहात र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरे । सो अवसरमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले आआफ्ना कुरा राखेका थिए ।





