पोखरा, २१ चैत । क्षेत्री समाजका अध्यक्ष प्रा. डा. चन्द्रबहादुर थापाले क्षेत्रीहरुलाई आदिवासीमा सूचिकृत नगरे राज्यविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले नेपालको सबैभन्दा बढी जनसंख्या भएको क्षेत्रीहरुलाई राज्यले विभेद र अवहेलना गरी अधिकारबाट बञ्चित गरेको आरोप पनि लगाए । आन्दोलन हिँसात्मक पनि हुनसक्ने उनको उद्घोष थियो ।
‘राज्यकै ठूलो जनसंख्या भएको शक्तिलाई अधिकारबाट बञ्चित गरिएको छ’, क्षेत्री समाजको तेस्रो महाधिवेशनको तयारीबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘हामी अधिकार नपाएसम्म राज्यले खोजेजस्तो आन्दोलन गर्छौँ, शान्तिपूर्ण आन्दोलन चाहिन्छ कि हिंसात्मक त्यो राज्यमा भर पर्छ ।’ क्षेत्रीहरुले आदिवासी जनजातिकातिको सूचिमा नपारिएको र विभिन्न अवसरहरुबाट आफूहरुलाई बञ्चित गरिएको गुनासो गर्दै आएका छन् । अध्यक्ष थापाले आफ्नो शक्ति कति छ भन्ने कुरा तेस्रो महाधिवेशनपछि राज्यलाई देखाउने बताए ।
क्षेत्री समाजका सदस्य राजनीतिक विभिन्न राजनीतिक दलहरुप्रति आस्थावान भएपनि समाज स्वतन्त्र सस्था भएको उनको दावी थियो । यही चैत २३ र २४ गते पोखरामा क्षेत्री समाजको तेस्रो महाधिवेशन हुँदैछ । महाधिवेशन आफूहरुले उठाउँदै आएका माग र मुद्दाहरुलाई स्थापित गर्नको लागि आयोजना गरिएको पनि थापाको भनाई थियो । पत्रकार सम्मेलनमा बोल्दै समाजाका महासचिव रोमबहादुर कार्कीले खस क्षत्रीलाई आदिवासीमा सुचिकृत गरि (आइ एल ओ ) मा उल्लेखीत अधिकार उपयोगका सुनिश्चित हुनुपर्नेमा जोड दिए । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र नेपाल पनि आफ्नो एजेण्डा भएको उनको भनाई थियो । उनले खस क्षेत्रीको पहिचान र अस्तित्व रक्षाका लागि सडक संघर्ष अपरिहार्य भएको जिकिर गरे ।
पोखरामा आयोजाना हुने महाधिवेशनमा ६० जिल्लाबाट ५ सय प्रतिनिधि सहित हजारौँ सहभागी हुने समाजले जनाएको छ । उदघाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथी रहने आयोजकको भनाई छ । पूर्व उप–प्रधानमन्त्री भीम रावल ,राप्रपा नेपालका अध्यक्ष कमल थापा ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालको समेत महाधिवेशन उद्घाटन सत्रमा सहभागिता रहने आयोजकको दावी छ । महाधिवेशनले आगामी कार्यकालका ेलागि नयाँ नेतृत्व चयन गर्नेछ ।





