पोखरा, २२ चैत – सामाजिक विकास मन्त्री नरदेवी पुनले आफ्ना मन्त्रालय अन्तरगतका योजना सम्झौताका लागि प्रदेशभित्रका सबै जिल्लामा टोली खटाउने बताएकी छिन । प्रदेश मामिला समितिका सदस्यले मन्त्रालयको प्रगति न्यून भएको भन्दै प्रश्न उठाएपछि योजनामा कामको प्रगति बढाउन मन्त्रालयले जिल्ला जिल्लामा योजना सम्झौता गर्न टोली पठाउन लागिएको मन्त्री पुनले वताएकी हुन् । मन्त्री पुनलाई सामाजिक मन्त्रालयको योजना र कामको प्रगति वारेमा जानकारी लिन प्रदेश मामिला समितिले विहिवार बैठकमा वोलाएको थियो ।
‘दुर्गम ठाउँबाट मन्त्रालयमा सम्झौता गर्न आउदा पनि थुप्रै खर्च गर्नपर्ने भएकाले प्रगतिमा कमी भएको छ,’ मन्त्री पुनले भनिन्– ‘अव योजना सम्झौता गर्न जिल्ला जिल्लामा टोली नै पठाउदैछौ ।’ योजना छनौट गर्दा दोहोरोपन हटाउने कुरामा पनि ध्यान दिएको वताउदै यसमा सहयोग गर्न सांसदहरुलाई आग्रह गरिन । ‘एउटा विद्यालयमा एउटा मात्रै कार्यक्रम हुन्छ,’ मन्त्री पुनले भनिन् , ‘चालु आर्थिक वर्षमा निर्माण हुन नसक्ने योजनालाई बहुवर्षिय योजनामा राखिनेछ ।’ आगामी बर्षको बजेट निर्माण गर्दा सवै सांसदहरुको सल्लाह र सुझाव लिने भन्दै मन्त्री पुनले केन्द्र सरकारसंग अधिकार लिने र दिनेको जस्तो ब्यवहार भएकाले पनि चाहेजस्तो काम हुन नसकेको बताइन ।
बैठकमा प्रदेश मामिला समितिका सभापति कृष्ण थापाले योजना निर्माण र कार्यान्वयन गर्दा लक्षित समुदायमा पुग्ने र परिणाममुखी बनाउने पर्नेमा जोड दिए । आर्थिक बर्षको अन्त्यतिर आईपुग्दा पनि कार्य सम्पादनको प्रगति न्यून भएको भन्दै थापाले कार्यान्वयन प्रक्रिया फितलो भएको वताए । ‘प्रत्येक पालिकामा एउटा अस्पतालको नीति सहि छ, तर कार्यान्वयन प्रभावकारी भएको छैन,’ थापाले भने, ‘अव कार्यक्रम निर्माण गर्दा पनि सांसदहरुलाई जोडेर गर्नु पर्दछ ।’

बैठकमा सांसदहरु कृष्णबहादुर थापा, मधुमाया अधिकारी गुरुङ, रोशनवहादुर गाहा थापा, दिपक थापा, मिना गुरुङ, मनकुमारी गुरुङ, कोपिला वोहरा, इन्द्रधारा विष्टले योजना प्रणाली पारदर्शी नभएको, दुर्गम स्थानका जनताले सूचना नै नपाएको, भाषा र संस्कृतिको प्रवद्र्धनमा कार्य नभएको, मन्त्रालय मातहतका कार्यक्रमको अनुगमन र नियमन नभएको लगायतको विषयमा मन्त्रीको जवाफ मागेका थिए । उनीहरुले पोखरा श्रम कार्यालयको ब्यवस्थापन राम्रो नभएको, प्रदेशले १ हजार शैयाको अस्पताल बनाउने नीति लिएपनि कार्य प्रगति नभएको, प्रदेशको शिक्षा नीतिमा नयाँपन नदेखिएको, अहिले पनि मन्त्रालय गैरसरकारी संस्थामुखी भएको विषयमा प्रश्न उठाएका थिए ।
वैठकमा मन्त्रालयका सहसचिव भीमप्रसाद तिवारी, स्वास्थ्य महाशाखा प्रमुख रमेश अधिकारी, शिक्षा महाशाखा प्रमुख तेजप्रकाश काफ्ले र सामाजिक बिकास महाशाखा प्रमुख तुलसा अर्यालले मन्त्रालयको बार्षिक कार्यक्रम, हालसम्मको कार्यप्रगति र योजनाका वारेमा वैठकमा जानकारी गराएका थिए ।





