पोखरा, २२ चैत- हेम्जामा १२ औँ संस्करणको आलु महोत्सव शुक्रबारदेखि सुरु भएको छ । यो क्षेत्र आलुको लागि देशमै प्रख्यात छ । स्थानीय विष्णुपादुका युवा क्लवले महोत्सवको आयोजना गरेको हो ।
नेकपाका अध्यक्ष प्रचण्डले कार्यक्रमको उद्धाटन गर्ने प्रचार गरिएतापनि प्राविधिक गडबडीका कारण प्रचण्ड भने आउन सकेनन् । प्रचण्ड नआएपछि प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले महोसत्वको उद्धाटन गरे ।उद्धाटनमा बोल्दै उनले प्रदेश सरकारले अग्र्यानिक कृषिलाई प्राथमिकतामा राखेको बताए । संघ सरकारसँगको सहकार्यमा आलुको पकेट क्षेत्र घोषणा गर्नेदेखि प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
कृषिलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्ने, दुग्ध र कृषिजन्य पदार्थमा आत्मनिर्भर बनाउने, कोल्डस्टोर्स निर्माण, प्राङ्गारिक मल, मल कारखाना खोल्ने सरकारको नीति रहेको मन्त्री थापाको भनाई छ ।कार्यक्रममा संघ तथा प्रदेश सांसदहरुले आलु महोत्सव ब्राण्ड भएको र यसको व्यवसायीकरणमा ध्यान दिईनुपर्ने, स्थानीय कृषकको मागबमोजिम चिस्यान केन्द्र निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाए ।महोत्वसको विशेषता भनेकै आलु र आलुका परिकार सहित कृषि सामाग्रीहरु छन् । स्थानीयले उत्पादन गरेको आलुको बिक्रीदेखि आलुका दर्जनौँ परिकारको स्वाद महोत्वसमा चाख्न पाईन्छ ।
आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शन, टर्कीको बिक्रीवितरण तथा प्रदर्शनी महोत्वसका आकर्षण हुन् ।
हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाईएको छ ।
महोत्सवमा २८ वटा कृषि स्टल, ९५ वटा व्यापारीक स्टल, १ रेडक्रस तथा प्राथमिक उपचार स्टल, १ सूचना स्टल तथा कुल १० वटा आलुका परिकारका स्टल राखिएका छन् ।महोत्सव प्रवेशका लागि रु। ८० को साधारण, रु।५० को विद्यार्थी सहुलियत तथा तिन सयमा महोत्सव अवधिभर स्थानिय पासको व्यवस्था मिलाइएको छ । महोत्सव ८० हजार देखि १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव वैशाख १ गतेसम्म चल्नेछ ।





