म्याग्दी, २४ चैत-हिमालपारीको जिल्ला मुस्ताङ यतिबेला तीर्थयात्रीहरुको भीडले खचाखच भरिएको छ ।
आज (शनिवार) देखि चैतेदशैं पर्व शुरुभएकोले कागबेनीमा तर्पण दिन गएका तीर्थयात्री र घुम्न गएका आन्तरिक पर्यटकहरुको भीडले मुस्ताको मुक्तिनाथ,कागबेनी र जोमसोम क्षेत्र खचाखच भरिएको हो ।
सार्वजनिक यातायात र नीजि सवारीसाधनका मुस्ताङमा ताँती लागेको छ । औंशीका दिन (शुक्रवार) मात्रै पाँच हजारभन्दा बढी संख्यामा तीर्थयात्री तथा पर्यटकहरु मुस्ताङमा पुगेका स्थानीय होटल व्यावसायीहरुले बताएका छन् ।
पर्यटकीय सिजन पनि शुरु भएको र चैतेदशैं पनि आरम्भ भएकोले मुस्ताङमा भीड बढेको हो । चैतेदशैंको औंशीमा आफ्ना दिवंगत पितृहरुलाई तर्पण दिई श्रद्धागरेमा मोक्ष प्राप्त हुने विश्वासले मानिसहरु टाढाटाढाबाट पनि मुस्ताङमा आएका मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताए ।
ट्राफिक कार्यालय मुस्ताङका अनुसार बिहीबार मुस्ताङमा पाँच हजार तीन सय ४० जना आन्तरिक पाहुना पुगेका थिए । आन्तरिक पाहुनाको ओइरो लागेपछि सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई पनि समस्या भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
स्थानीयका अनुसार वर्षको दुईपटक कागबेनीमा दर्शनार्थीको भीड बढ्छ। बडादसैंको सोह्रश्राद्धको औंसी र चैतेदसैं औसी तिथिमा कागबेनीमा श्राद्ध तथा तर्पण गर्न आन्तरिक तिर्थालुको भीड लाग्ने हुँदा आउजाउ बढेको हो । मुस्ताङमा अहिले गत वर्षभन्दा बढी पर्यटक आएका सहायक प्रजिअ गौतमले जानकारी दिए ।





