पोखरा, २९ चैत – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एकताको सन्देश पोखराबाटै सुरु हुने विश्वास व्यक्त गरेका छन्। पर्यटकको हिसाबले राष्ट्रकै राजधानी पोखरामा छिट्टै नै हुने निर्वाचनमा एकता देखाएर चुनाव आफ्नो पक्षमा पार्नुपर्नेमा कांग्रेस सभापति देउवाले जोड दिए। पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्कीको निर्वाचन क्षेत्र नम्बर २ खाली छ। त्यसै चुनावलाई लक्षित गर्दै सभापति देउवाले नेपाल महिला संघ नगर समितिको आयोजनामा नयाँ वर्ष २०७६ को अवसरमा शुक्रबार भएको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टी भित्र गुट-उपगुट त्यागेर पोखराबाट एकताको सन्देश दिनुपर्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारको कारण संघीयता संकटमा पर्ने अवस्थामा रहेको बताएका छन्। संघियता बचाउन नेपाली कांग्रेस भ्रष्टाचारलाई प्रमुख एजेण्डा बनाएर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।बालुवाटारको भूमी काण्डमा नेकपाका महासचिव विष्णु पौडेल निर्दोष रहेको भन्दै सरकारको प्रवक्ताले बचाउन खोजेको आरोप लगाए। ‘उहाँलाई त झुक्याएको हो, उहाँको केही पनि दोष छैन’ भनेर भनेकोमा उनले आपत्ति व्यक्त गरे। नेकपाका जति मान्छे भ्रष्टाचारमा मुछिन्छन् उनीहरुलाई जोगाउनका लागि नेतृत्व सक्रिय भएको पौडेलले आरोप लगाए।
नेपालमा रातो झण्डा ओडेपछि सबै खत माफ हुन्छन, सबै भ्रष्टाचार जोगिन्छ भन्ने अवस्था रहेको उनले बताए। पौडेलले कम्युनिष्ट सरकारले भ्रष्टाचारलाई विधिगत संस्थागत गरेको पनि आरोप लागाए। नेपाली कांग्रेस भ्रष्टाचारको प्रतिस्पर्धामा जान नहुनेमा जोड दिदै नेता पौडेलले नेपालको संघीयता जोखिममा भ्रष्टारबाटै हुने भएकोले त्यसको बिरोधमा पार्टी एकतावद्ध हुनुपर्ने बताए। सत्ता पैसाले कब्जा गर्ने भएपछि सेवाको अर्थ के हुन्छ ? सिद्धान्त, आदर्श, मुल्यमान्यताको अर्थ कहाँ रहन्छ उनले प्रतिप्रश्न गरे। जनतालाई सेवा गरेर खुशी गराएर जनताको समर्थन पाउने कुरा नै नरहने अवस्थातर्फ देश गएको उनले बताए ।





