म्याग्दी, ३० चैत – सर्वसाधारणसंग चन्दा उठाएर र देश विदेशमा रहेका गाउँलेहरुबाट प्राप्त सहयोगले निर्माण गरिएको हो उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालका ६ पोखरेबगरमा कालीगण्डकी आमा समूहको भवन । दुई तले सो भवनको भुइँतलामा चारवटा सरकारी कार्यालयका बोर्ड टाँगिएको छ ।
आमा समूहले उपलब्ध गराएको भुइँतलाको एउटा कोठामा कृषि र पशु सेवा शाखाका दुईवटा शाखा सञ्चालनमा रहेका छन् भने अर्को कोठामा स्वास्थ्य शाखा र आयुर्वेद शाखाको बोर्ड राखेर कार्यालय सञ्चालन गरिएको छ ।
आमा समूहको भवनको भुइँतलाका दुईवटा कोठा नै अन्नपूर्ण गाउँपालिकाका जनताका लागि ‘गाउँगाउँमा सिंहदरवार’ बनेका छन् ।
कार्यालय प्रमुखदेखि लेखाको एउटै कार्यकक्ष । स्टोर शाखा पनि त्यही कोठामा । त्यो सँगै सेवाग्राही विभिन्न सेवा लिनका लागि आउने र त्यहीँबाट सेवा लिने गर्दछन् ।
देशमा संघीयता कार्यान्वयनसंगै गाउँगाउँमा सिंहदरवारको नारा चर्कोरुपमा लगाइए पनि सिंहदरवारको त कुरै छोडौं सरकारी कार्यालयका शाखा र सेवा प्रदायक संस्थाहरुले एउटा कोठा समेत पाउन नसक्दा सेवाग्राहीहरु समेत मर्कामा परेका छन् ।
एउटै कोठमा स्टोर,कार्यालय र लेखा शाखा हुँदा कर्मचारीलाई त झण्झट छ, छ । सेबाग्राहीहरु समेत अलमलमा पर्ने र समयमा नै सेवा नपाउने समस्या भोग्दै आएका छन् ।
पशु सेवा शाखा अन्नपूर्ण गाउँपालिकाका संयोजक कृष्ण चौधरीले कार्यालय र स्टोर एकै ठाउँमा हुँदा काम गर्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले कार्यालय प्रमुखको कार्यकक्षदेखि लेखा र स्टोर एकै ठाउँबाट सञ्चालन गर्नुपर्ने अवस्थाका कारण काम गर्न एकदमै समस्या भएको बताउनुभयो । कार्यालय भवन निर्माण नहुँदासम्म यस्तै समस्या भैरहने उहाँको भनाइ छ ।
यता अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले पोखरेबगरमा घर भाडामा नपाइने हुँदा एकै ठाउँमा कार्यालय राखेर कार्यसम्पादन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनुभयो । उहाँले अहिले कामचलाउ गरिएको हुँदा आगामी आर्थिक वर्षदेखि नयाँ संरचना निर्माण गरेरै भए पनि गाउँपालिका अन्तर्गतका शाखा कार्यालयहरुलाई व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।
भुइँतलाको दुईवटा कोठामध्ये एउटा स्वास्थ्य शाखा र अर्को कृषि तथा पशु सेवा शाखाले प्रयोग गर्दै आइरहेका छन् । कृषि र पशु सेवा शाखाले प्रयोग गर्ने कोठामा स्टोर पनि सञ्चालन गरिएको छ । स्टोरमा कृषि र पशुपन्क्षीका लागि आवश्यक विषादी तथा औषधि र उपकरणहरु राखिएको छ ।कृषि र पशुसम्बन्धी विभिन्न विषादी एवं औषधिहरु एकै ठाउँमा राखिँदा काम गर्ने क्रममा औषधि र विषादीको दुर्गन्धले समस्या आएको कर्मचारी बताउँछन् । खासगरी पशुसम्बन्धी विषादीहरु धेरै हुने भएकाले विषादीसँगै बस्नुपर्दा धेरै गाह्रो भएको पशु शाखाका संयोजक चौधरीको भनाइ छ ।





