भद्रपुर, ४ बैशाख- नेपाल भारत सीमा क्षेत्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना बन्द गरिएको झापा जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले बताए ।उनका अनुसार यही वैशाख ५ गते भारतको पश्चिम बङ्गालस्थित नेपालसँग सीमाना जोडिएका पानी ट्यांकी नक्साल वाडीलगायत क्षेत्रमा लोकसभा सदस्यको निर्वाचन मतदान हुने भएकाले सुरक्षालाई ध्यान राखेर भारतीय पक्षले आज बेलुका ६ बजेदेखि पानी ट्यांकीमा सीमा बन्द गरेको हो ।बिहीबार बेलुका ६ बजेसम्म गरिएको बन्दबाट नेपालमा रहेका भारतीय र सिलगुडीमा रहेका नेपालीलाई आवातजावतको बाधा नपुगोस् भनेर सीमामा आज जाँँच गरी बेलुका १० बजेसम्म छाड्न सकिने भारतीय प्रहरी वरिष्ठ उपरीक्षकले जानकारी दिएको उनले बताए ।तीन दिनसम्म सवारी साधनसहित कुनै पनि व्यक्ति हिँड्न नपाउने गरी नेपाली सुरक्षाकर्मीसँग सहकार्य गरेर भारतीय सुरक्षाकर्मी बाक्लो रुपमा उपस्थित छन् । रासस





