म्याग्दी,६ वैशाख – बहुचर्तित कोरला नाका खुलाउने विषयमा पछिल्लो समय नेपाल सरकार लागि परेको छ । हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा रहेको लोमान्थाङको कोरला नाका चीनसंगको व्यापार तथा पारवहनका लागि सवैभन्दा नजिकको र उपयुक्त नाका भएकोले नेपाल र चीन सरकारको ध्यानाकर्षण भएको हो ।
कोरला नाका संचालनको विषयलाई लिएर व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको टोलीले मुस्ताङ र चिनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाकाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति पवित्रा निरौला खरेलको नेतृत्वमा ९ जना संसदहरुको टोलीले निर्माणाधिन बेनी–जोमसोम–कोरला सडक आयोजना, कोरला नाका, नाका क्षेत्रको पूर्वाधार, सुरक्षा अवस्थाको बारेमा अध्ययन गरेको हो ।
मुस्ताङ आएर बुधबार फर्कीएको संसदीय टोली जिल्लाका धार्मिक, पर्यटकीय स्थलहरुको समेत अध्ययन, अनुगमन गरेर सरोकारवालाहरुसंग छलफल मार्फत सुझाव समेत संकलन गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।
टोलीलाई जिल्लाका सरोकारवालाहरुले बेनी–जोमसोम–कोरला सडक आयोजनालाई तिब्रता दिन, विभिन्न स्थानमा मोटरेबल पुल निर्माण गर्न, कोरला नाका सञ्चालनका लागि आवश्यक कुटनीतिक पहल अघि बढाउन, सुरक्षा र प्रशासनिक तयारीका लागि पहल गरिदिन सुझाव दिएका छन् ।
हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन र भ्रमणका लागि आउने भक्तजन तथा पर्यटकहरुको उपचारका लागि डाक्टर सहितको दरबन्दि भएको स्वास्थ्य संस्था सञ्चालनका लागि पनि माग गरिएको सांसद तुलाचनले बताए ।
अध्ययन र छलफलका विषयलाई समेटेर प्रतिवेदन तयार पारि सरकारलाई सुझाव सहितको प्रतिवेदन बुझाइने सभापति खरेलले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० र कोरला नाका सञ्चालनको तयारीका विषयमा सुझाव संकलनका लागि संसदीय टोली मुस्ताङ आएको हो ।
नेपाल भ्रमण वर्ष २०२० का लागि मुस्ताङ पनि मुख्य पर्यटकीय गन्तब्य भएकाले यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण र धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसारमा जोड दिनुपर्ने जिल्लाका सरोकारवालाहरुको भनाई छ ।





