बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कांग्रेसमा पैसामा टिकट बेचिन्छ –सुजाता

कांग्रेसमा पैसामा टिकट बेचिन्छ –सुजाता


  • Dhorpatan News
  • बैशाख ८ २०७६, आइतबार

पोखरा, ८ वैशाख –  नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले अघिल्लो चुनावमा नेपाली कांग्रेसले पैसामा टिकट बेचेको आरोप लगाएकी छन् । उनले कांग्रेसको समाजवादको एजेण्डा बोकेर अरु पार्टी सत्तामा गएको तर कांग्रेस टिकट बेचेर उँधो लागेको दावी पनि गरिन् । ‘हामीले समाजबाद बिर्सियौँ’, गिरिजाप्रसाद कोइरालाको ९ औं स्मृति दिवसको अवसरमा जिपि कोइराला फाउण्डेसन गण्डकीले शनिबार पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भनिन्,‘अहिले पैसाको राजनीति चल्छ , पैसामा टिकट किनबेच हुन्छ ,यो दुर्भाग्य हो ।’पार्टीलाई जीवित राख्नका लागि यूवालाई समेटेर एजेण्डा तय गर्नुपर्ने उनको सुझाव छ । कोइराला परिवारबाट राजनीतिक नेतृत्व लिने अपेक्षा गरिएकी सुजाता शारिरीक अस्वस्थताका कारण केही समयदेखि सार्वजनिक कार्यक्रममा खासै देखिएकी थिइनन् । पछिल्लो पटक पोखरा आएका बेला उनले पार्टी नेतृत्वको खुलेर आलोचना गरिन् । अहिले कोइराला परिवारबाट शेखर र सशांक पनि सक्रिय राजनीतिमा रहेका छन् । शेखर र सशांकभन्दा अगाडि नै देशको उपप्रधानमन्त्री समेत भइसकेकी सुजाताको अभिव्यक्तिलाई कोइराला परिवारकै अभिव्यक्तिको रुपमा बुझिन्छ ।
फरक प्रसंगमा उनले शान्ति प्रक्रिया भंग भए देशमा अर्को माओवादीको उदय हुने दावी पनि गरिन् । सहमति, सहकार्य र एकताबाट मात्रै विकास र शान्ति सम्भव हुने भन्दै उनले जनयुद्ध पछि भएको शान्ति सम्झौता र त्यसपछिका प्रक्रिया भंग भए देशमा पुनः अर्को माओवादीको जन्म हुने तर्क गरेकी हुन् । कोइरालाले भनिन्–‘शान्ति सम्झौतामा गिरिजाबाबुको ठूलो योगदान छ । उहाँकै जोडवलले माओवादी जंगलबाट शान्ति प्रक्रियामा आयो । राजाले दरबार छोडे ।’संघीय लोकतान्त्रिक गणतन्त्र उहाँकै योगदानको उपलब्धी भएको जिकिर गर्दै उनले काँग्रेसको जगमा उभिएर केपी ओली प्रधानमन्त्री बनेको दावी गरिन् । ।
पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले लामो समय कांग्रेसको आन्तरिक किचलोबारे बोलिन् । उनले पहिले आफूले बोलेको काम पूरा गरेर छोड्ने भएपनि अहिले बोलेका कुरा पूरा गर्न नसकेको बताइन् । ‘पहिले काँग्रेसले जे बोल्यो त्यो पूरा गथ्र्यो’उनले भनिन्,‘ अहिले जे बोल्छ, त्यो गर्दैन । केन्द्रिय सदस्य कमला पन्तले गिरिजाप्रसाद कोइरालाको योगदान देश र जनताले भुल्न नसक्ने बताइन् । कोइरालाकै कारण देशमा गणतन्त्र आएको भन्दै उनले त्यसको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा रहेको उनको भनाई छ । अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेसले आफ्नो सिद्धान्त र एजेण्डा भुलेर सत्तामा केन्द्रित भएको गुनासो गरे । ‘सत्तामा पुगेपछि देशका लागि काम गर्नुपर्छ । जनताका लागि काम गर्नुपर्छ । कार्यकर्ताको मर्का बुझ्नुपर्छ’, उनले भने,‘हाम्रा नेताहरु माथी पुगेपछि सबै भुल्नुहुन्छ । त्यसैले पार्टी कमजोर बनिरहेको छ ।’ सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले कांग्रेसको प्रजातान्त्रिक समाजबाद जनस्तरमा पु¥याउन नसकेको बताए ।
पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की काँग्रेसका पूर्व सभापति शोभियतबहादुर अधिकारी लगायतले पार्टी गुट र उपगुटबाट जोगिन सके आत्तिनुपर्ने अवस्था नरहेको बताए । केन्द्रिय सदस्य प्रदीप पौडेलले कम्युनिष्ट सरकारले देशमा समृद्धी नआउने टिप्पणी गरे । उनले नेपालमा काँग्रेसको नीतिभित्र कम्युनिष्टले रजाईं गरेको बताए । ‘नेपालमा नीति काँग्रेसको छ । नेतृत्व कम्युनिष्टको छ, उनी भन्छन्–भोट हालेर जित्ने सिद्धान्त हाम्रो हो । कम्युनिष्टहरु यही सिद्धान्तबाट सत्तामा पुगेका हुन् ।’ कार्यक्रम गण्डकी प्रदेश संयोजक शारदा पौडेलको अध्यक्षतामा भएको हो । सोही अवसरमा जिपी कोइराला फाउण्डेसनका विभिन्न जिल्लाहरुको कार्यसममिति गठन र पदस्थापन समेत गराईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->