काठमाडाैँ, १० बैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुर्दशनसहित ६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न ललितपुर जिल्ला अदालतले आदेश गरेको छ।न्यायाधीश अवनी मैनाली (भट्टराई) को इजलासले सुर्दशनसहित नख्खु बम विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्य ५ जनालाई थुनामा राख्न आदेश दिएको हो। थुनामा राख्न आदेश भएका अन्य विप्लव समूहका कार्यकर्तामा शिव धमला भन्ने शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र बिरबहादुर कठायत छन् । सुर्दशन सहित ६ जनालाई नै पूर्पक्षका लागि नख्खु कारागारमा पठाईएको ललितपुर जिल्ला अदालत स्राेतले जनाएको छ ।काभ्रेबाट काठमाडाैँ आउने क्रममा वली गएकाे चैत ९ गते बिहान पक्राउ परेका थिए । उनलाई नख्खु विस्फोटमा संलग्न रहेको आरोप छ ।ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा गएकाे फागुन १० गते भएको बम विस्फोट परी लमजुङ घर भई ललितपुर भैसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो ।यस्तै, ललितपुर महानगरपालिका ४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई अहिले मेडिसिटी अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया उरुषा मानन्धर घाइते भएका थिए ।





