पोखरा,१२ बैशाख – घलेगाउँलाई रातो जस्तापाता किन्न गण्डकी प्रदेश सरकारले २९ लाख रुपैयाँ दिने भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार पर्यटन प्रवद्र्धन गर्न भन्दै उक्त रकम दिइने भएको हो ।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ५० प्रतिशत अनुदान दिने गरी २९ लाख २७ हजार रुपैयाँ दिईने भएको हो ।‘एउटै रंगको गाउँ बनाउन सरकारले सहयोग गर्ने भएको हो’ उनले भने ।
घलेगाउँका अहिले गुरुङ बसोबास रहेको ८० र दलित बसोबास रहेको ४५ गरि कुल १२५ वटा घर छन् । कालो जस्ताले छाईएका यी घरहरुमा रातो जस्ता लगाउन सरकारले सहयोग गर्ने निर्णय गरेको हो ।घलेगाउँ क्होलासोथर गाउँपालिका ३ मा पर्दछ । गाउँपालिकाका अध्यक्ष प्रेम घलेले घलेगाउँलाई रातो जस्ताले रंग्याउन ७५ लाख खर्च लाग्ने जनाए । उनी भन्छन्, ‘सके यही चालु आर्थिक वर्ष नसके अर्को वर्षभित्र सबै घरहरु जस्ताले छाउनेछौँ ।’
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सात सय वर्ष पुरानो मानिन्छ । चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए । तिनै राजाको नामबाट यस गाउँको नाम घलेगाउँ राखिएको हो । पुर्खाको सम्मानका लागि स्थानीयवासीले घलेराजाको शालिकसहित पार्कको निर्माण गरेका छन् भने गाउँमै गुरुङ संस्कृतिको ज्वलन्त चित्रण गर्ने सार्क भिलेज पर्यटन संग्रहालय पनि स्थापना गरिएको छ ।राजाको नाममा राखिएको यस गाउँले मौलिकता त गुमाउँदैन ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘हामीले नमुना गाउँ बनाउन लागेका हौँ, संरक्षण गर्न खोजिएको हो ।’
उसो त यो वडामा मात्र कुल २ सय ५५ घरहरु छन् । प्राय घरहरु थरिथरिका ढुंगाले छाइएका छन् ।
गत असारमा गाउँसभाले पारित गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यो योजना समेटिएको घलेको भनाई छ ।
‘हामीले गाउँसभाबाटै पारित गराएका हौँ, सके यो वर्ष नसके अर्को वर्ष ढुंगाको छाना हटाएर रातो जस्ताले छाना छाउनेछौँ ।’ उनले भने ।दुईवटा छाना हुने घरमा चाहिँ यो वर्ष एउटा छाना मात्र परिवर्तन गरिनेछ ।नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होम स्टे आदिका लागि प्रख्यात यस गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । घले गाउँको प्रमुख आय श्रोत नै पर्यटन व्यवसाय हो । हिमालको काखमा रहेको सार्क भिलेज ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ ।
स्थानीय नदी एवम् खोलाका माछा, भेडीगोठका भेडा, च्याङ्ग्र्रा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदाको रक्सीको स्वाद चाख्नुका साथै मौसम अनुसार कुरिलो, निउरो जस्ता परिकारको स्वाद पनि यहाँ आउने पर्यटकले लिन पाउँछन् ।होमस्टेका लागि पनि प्रख्यात घलेगाउँमा आगामी वैशाख २३ गते २० औँ घलेगाउँ महोत्सव समेत आयोजना गरिएको छ । २० वर्ष पहिले नै यहाँ होमस्टेको थालनी गरिएको थियो ।
यस्तै, मन्त्रिपरिषदले भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहने गरी दमौली र बागलुङमा सडक डिभिजन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यसअघि यी दुवै कार्यालय संघ सरकारको मातहतमा थिए ।‘अब प्रदेशमातहत रहने गरि कार्यालय खोल्ने निर्णय भएको छ’ मन्त्री बस्नेतले भने, ‘दुवै कार्यालयमा ३६÷३६ जना कर्मचारीको दरबन्दी रहनेछ ।’यस्तै, प्रदेशका पहिलो प्रमुख सचिव लक्ष्मण अर्याललाई सरकारले प्रशंसापत्रले सम्मान गर्ने भएको छ ।





