शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रोकिएन बालविवाह, आठ महिनामा चौध जोडी विवाह बन्धमा बाँधिए

रोकिएन बालविवाह, आठ महिनामा चौध जोडी विवाह बन्धमा बाँधिए


  • ध्रुबसागर शर्मा
  • बैशाख १३ २०७६, शुक्रबार

म्याग्दी, १३ बैशाख – धवलागिरी गाउँपालिका–२ लुलाङकी लालमती (नाम परिवर्तन) १५ वर्ष पुगिन् । उनी लम्सुङ माविमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । लालमती आफुसंगै अध्ययन गर्ने साथी हिराबहादुुर (नाम परिवर्तन) संग विवाह बन्धनमा बाँधिन पुगिन् ।

संगै अध्ययनरत लालमती र हिराबहादुरले विवाह बन्धनमा बाँधिएपछि नियमित रुपमा विद्यालयमा जान छाडिसकेका छन् । त्यस्तै वडा नं ३ मुना फलियागाउँकी १६ वर्षिया जमुना (नाम परिवर्तन) मालिका गाउँपालिका–५ देविस्थानका एक युवकसँग विवाह गरी घरजम गर्न थालेकी छिन् ।

उनी स्कुले उमेरमा नै विवाह गरेपछि उनलाई पढाई भन्दा पनि घरायसी कामकाजको बोझ थपिएपछि अहिले उनले बिचमै पढाई छाड्न बाध्य भएकी हुन् । जमुना फलियागाउँको विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहदा रहदै वैवाहिक जीवनमा बाँधिएकी हुन् ।

गाउँकै धनजनता माविमा अध्ययरत १७ बर्षिया अर्की नानीमैया (नाम परिवर्तन) पनि बिचमै पढाई छाडेर अहिले घरजम गरेर बसेकी छिन् । “पढ्ने रहर त छ के गर्नु ? विवाह गरेपछि परिवारले आफुले भनेजस्तो कुरा बुझ्दैनन्, घरधन्दा गर्दैमा ठिक्क छ” उनले भनिन् ।

लुलाङ क्षेत्रमा मात्रै आठ महिनाको अवधीमा१४ देखि १८ वर्ष उमेरका १४ जोडीले स्कुले जीवनमा नै विवाह गरी घरजम गरेको पाइएको छ । यहाँ उमेर नपुग्दै विवाह गर्नेको तथ्यांकलाई हेर्दा अधिकांश दलित समुदायका रहेको भेटिन्छन् ।

आफुखुशी विवाह गरेका जोडीलाई अभिभावकले पनि सहमती जनाउन थालेपछि यहाँ उमेर नपुग्दै विवाह गर्ने बढ्दै गएका छन् । विशेषगरी दलित समुदायमा अशिक्षा, गरिवीका कारण उमेर नपुग्दै विवाह गर्ने परम्परामा अझैपनि कमी आउन सकेको छैन ।

यहाँ म्याग्दी जिल्लाकै ठूलो दलित बस्ती रहेको छ । आधारभुत तहदेखि माविसम्म अध्ययनरत विद्यार्थीले एकपछि अर्को बालविवाह गर्न थालेपछि लुलाङमा बालविवाह विकराल बन्दै गइरहेको पाइएको छ ।

धवलागिरीको लुलाङ, मुना, मुदी, मराङमा आधारभुत तहमै अध्ययनरत विद्यार्थी विवाह बन्धनमा बाँधिन थालेपछि बालविवाह चुनौतीको रुपमा देखिएको गाउँपालिकका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

“बालविवाह घट्ला भन्दा झन् बढ्दै जान थालेको छ, बालविवाहमा अभिभावकले नै सजिलै संग सहमती जुटाएका कारण रोक्न समस्या परिरहेको छ” उहाँले भन्नुभयो ।

“बालविवाह गरेका जोडी नियमित विद्यालय नजाने, सानै उमेरमा सम्बन्धविच्छेद गर्ने, शारीरिक एवम् मानसिक रूपमा कमजोर हुने गरेको पाइएको छ” उपाध्यक्ष छन्त्यालले थप्नुभयो ।

दलित, विपन्न समुदायका छोरीलाई विद्यालय शिक्षा दिनुको ठाउँमा १२÷१३ वर्षको उमेर पुग्न थालेपछि परिवारमा विवाहको कुरा सुरु गर्न थालेका कारण पनि अभिभावकबाटै बालविवाहलाई प्रोत्साहन मिलेको छन्त्यालको भनाई छ ।

स्थानीय बाल संजालले बालविवाह न्युनिकरणका लागि विभिन्न कार्यक्रम पनि नगरेका होइनन् । तर समुदायमै छोरीलाई विवाह गरिदिएपछि झन्झटबाट मुक्त भइन्छ भन्ने पुरानो संस्कारले समाजमा जरो गाडेकाले वालविवाह न्युनिकरणका प्रयासहरु सफल नभएको सरोकारवाला बताउँछन् ।

परम्परागत गलत संस्कार, जनचेतनाको कमी, गरिवी, अशिक्षाका कारण परिवारले नै दवाव दिने गरेको फुलमती (नाम परिवर्तन) ले बताइन् । उनले विवाह गर्ने चाहना नहुदा नहुदै पनि सानै उमेरमा परिवारको दबाबका कारण विवाह गर्न बाध्य रहेको गुनासो गरिन् ।

“पढ्ने मन हुदा हुदै घरमा बुबा आमा, आफन्तले विवाह गर्न ठुलो दबाब दिनुभयो, विवाह गर्ने रहर र उमेर नहुदा नहुदै पनि वैवाहिक बन्धनमा बाँधिन पुगेको छु” फुलमतीले भनिन् ।

बालविवाह रोक्न ‘उमेर सान्र्दभिक विवाहसँग उपाध्यक्ष’ अभियान

धवलागिरी गाउँपालिकामा कलिलै उमेरमा विवाह गर्ने जोडीलाई रोक्ने गरी ‘उमेर सान्र्दभिक विवाहसँग उपाध्यक्ष’ नामक अभियान पनि सुरु भएको छ । स्थानीय तहको निर्वाचनपछि वडास्तरमै रहेका जनप्रतिनिधिहरुले समेत बालविवाह रोक्न असफल देखिन्छन् ।

जिल्लाका अन्य स्थानीय तहको तुलनामा धवलागिरीमा बालविवाह गर्नेको संख्या धेरै भएपनि गुपचुप राख्ने गरिएकाले आधिकारिक तथ्याङ्क सङ्कलनमा समस्या भइरहेको जनप्रतिनिधिको भनाई छ ।

धवलागिरी गाउँपालिकाले बालविवाह विरुद्धको अभियानका लागि चालु आ.व.मा रु तीन लाख वजेट विनियोजन गरेको छ । गाउँपालिका भित्रका सबै वडामा जनचेतनामुलक अभियानसँगै बालविवाहमुक्त वडा घोषणा सहित बार्षिक कार्ययोजना, बाल सञ्जाललाई तालिम, अनुगमन लगायतका गतिविधि गरिनेछ ।

गाउँपालिका भित्रका सबै आधारभुत तथा मावि तहका विद्यालयमा सञ्जाल गठन, सञ्जालको विवाह हुने स्थानमा गस्ती, ‘विवाह जग्गेबाटै जोगाऊ बालिका, बालिका दुलही होइनन्’ जस्ता नारा सहित आगामी आर्थिक वर्षदेखि तीब्रताका साथ अभियान सुरू गर्ने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।

बालविवाह, बाल अधिकारको हनन् मात्र नभई बैवाहिक जीवन दिगो नहुने, परिपक्क नभई सन्तान जन्माउदा स्वास्थ्यसम्बन्धि विभिन्न समस्याहरू देखिने भएकाले पनि प्राथमिकताका साथ अभियानको सुरुवात गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो ।

“यौनजन्य हिंसा, बालश्रम जस्ता समस्यालाई समेत सोही अभियानले समेट्ने प्रयास गरिएको छ”— “कलिलै उमेरमा बिवाह गर्दा भविष्यमा महिला हिंसाका घटनामा बृद्धि हुने, महिलाहरु थप प्रताडित हुदा समाज गलत बाटोमा अगाडी बढ्ने भएकाले पनि सरोकारवालाको सहयोगबाट बालविवाह न्युनिकरण अभियानमा लाग्नेछौ” उहाँले बताउनुभयो ।

बालविवाह रोक्नै मुस्किल

नेपालको कानुन अनुसार २० बर्ष मुनिको बिवाहलाई मान्यता नदिएपनि म्याग्दीमा कम उमेर समुहका विवाह गर्नेको संख्या कम छैन् । पाँच दशक अगाडी गरिवी, अशिक्षा र धर्म कमाउने नाउँमा सानै उमेरमा बिवाह गर्ने चलन जस्तै अभिभावककै चाहनामा बालविवाह गर्ने गरिएको छ ।
जिल्लाभित्र आधिकारिक तथ्याङ्क नभएपनि बालविवाहलाई आफन्त र समुदायबाटै प्रोत्साहनका घटना प्रशस्तै देखिन्छन् ।

१४ देखि १९ वर्ष उमेरमै आफू खुशी विवाह गर्नेलाई परिवार र समुदायले नै नियन्त्रणमा असहयोग गरेकै कारण केही स्थानीय तहमा बाल सञ्जाल मार्फत गरिएका प्रयास समेत सफल हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीमप्रसाद आचार्य बताउनुहुन्छ ।

उहाँका अनुसार पारिवारिक, आर्थिक लगायतका समस्याभन्दा पनि सानै उमेरमा प्रजनन अङ्गहरूको पूर्ण विकास नभइसकेको अवस्थामा मातृमृत्यु, शिशु मृत्युदर बढ्ने, पाठेघरको क्यान्सर लगायत यौनजन्य रोग लाग्ने भएकाले पनि समस्या हुने गरेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा १४ देखि २० वर्षको उमेर समुहकाले गर्भपतन सेवा लिनेको संख्या पनि ठुलै रहेकाले जनचेतनामुलक अभियानलाई तीब्रता दिनुपर्ने स्वास्थ्य देखिन्छ । म्याग्दीमा प्रवासी म्याग्देलीको संस्था मोनाले बालबालिका कोषको अभियान सुरु गरेको छ तर प्रभावकारी हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->