शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुराना शिक्षकले धानेन गुणस्तर

पुराना शिक्षकले धानेन गुणस्तर

शिक्षकहरुले प्राविधिको प्रयोग नगर्दा शिक्षा गुणस्तर हुन सकेन : इकाइ प्रमख उपाध्याय


  • ढोरपाटन संवाददाता
  • बैशाख १५ २०७६, आइतबार

बागलुङ, १५ वैशाख – अधिकांस सामुदायिक बिद्यालयमा ३० देखि ३५ बर्षसम्म पढाएको शिक्षक कार्यरत छन् । प्रधानाध्यापक र अन्य शिक्षकहरु पुराना भएकोले नयाँ प्रविधिको पढाईमा समस्या परेको गुनासो बढ्न थालेको छ । अभिभावकले धमाधम बालबालिकालाई निजी बिद्यालयमा लग्न थालेपछि गरिएको अध्ययनले गुणस्तर अभाव प्रमुख कारक भएको भेटिएको हो । ‘हरेक बिद्यालयमा कम्प्युटर सहितको शिक्षा, अंग्रेजी माध्यम र अन्य समसामयिक प्रविधि भित्राउने भनिएको छ, तर हाम्रा शिक्षकले त्यो पालना गराउन सकेका छैनन्’ शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख कुश्मराज उपाध्यायले भने, ‘पुरानो शिक्षाका गुरुहरुले नयाँ विधि प्रयोग गर्न सक्नु भएको छैन ।’

बर्षौदेखि एउटै बिषय पढाउँदा थाकेका शिक्षकले प्रविधिको प्रयोग नगरेकै कारण अभिभावकले निजी बिद्यालय खोजेर हिड्न थालेको उनले बताए । निजी बिद्यालयमा लैजान नपरोस् भनेर हरेक बर्ष बिद्यालय सुधार, पढाई बिकास तथा गुणस्तर वृद्धिका कार्यक्रम ल्याएको जैमिनी नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताए । ‘अब नयाँ जोश र जाँगर भएका युवा शिक्षक आउनै पर्छ’ आचार्यले भने, ‘उनीहरुले कम्प्युटर विधिबाट नयाँ नयाँ कुरा खोजेर पढाउन सक्नुपर्छ ।’ प्रविधिमा अनविज्ञ भएकै कारण धेरै शिक्षकहरु कामविहिन भएको उनले बताए । अनिवार्य अवकास लिएर शिक्षकहरुले ठाउँ खाली गरिदिए गुणस्तर सुधार्न सहयोग पुग्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

सुधारको योजना ल्याएका धेरै बिद्यालयमा युवाहरुले नेतृत्व गरेकोले सफलता मिलेको उनले बताए । शैक्षिक शत्र शुरु भएपछि धमाधम शिक्षक आवस्यकता खोल्ने क्रम पनि चलेको छ । ती बिज्ञापनमा कम्प्युटर जानेको, अंग्रेजी भाषामा पढाउन सक्ने लगायतको योग्यता तोकिएको छ । ‘मल्टिमिडियामा पढाउन थालेका बिद्यालयमा पुरानो शैली कामै नलाग्ने भएको छ’ त्रिभुवन मावि खरवाङका प्रअ ढालमणी भण्डारीले भने, ‘प्रविधिकै कारण हामीले सामुदायिक बिद्यालय जोगाउन सकेका छौं ।’ अंग्रेजी माध्यम र कम्प्युटर शिक्षाले यहाँ हरेक बर्ष एकसय बढी बिद्यार्थीले निजी छाडेर आउने गरेको उनले बताए । सदरमुकामको धौलागिरी बहिरा आवासीय माविले पनि कम्प्युटर ज्ञान भएको, अंग्रेजी बिषय पढेको जस्ता बिषय राखेर शिक्षक खुलाएको निमित्त प्रअ रेशम श्रीषले बताए ।

सामुदायिक बिद्यालयको पाठ्यक्रम बाहेक एकदुइवटा बिषय थप गर्ने र भएको पाठ्यक्रमलाई पनि अंग्रेजी माध्यममा पढाउनका लागि सामुदायिक बिद्यालय हरु अग्रसर भएको स्थानको परीक्षाफल पनि राम्रो आएको उपाध्यायले बताए । ग्रामीण क्षेत्र सम्म पुगेर निजी बिद्यालयले बालबालिका तान्ने क्रम चलेपछि सामुदायिकमा गुणस्तर सुधार सहितका दर्जनबढी सूचक थप गर्ने होड पनि चलेको छ ।

निजी बिद्यालयमा शुल्क बढी लाग्ने भएकोले सामुदायिक बिद्यालयहरु गुणस्तर र बजारको माग अनुसारको पढाउने बन्नुपर्ने अभिभावकमा चासो बढेको छ । ‘अंग्रेजीमा पढाइ हुने, बसाई व्यवस्थापन राम्रो भएपछि सामुदायिकमै पढाउने हो’ बागलुङ नगरपालिका ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘तालिम प्राप्त शिक्षक, राम्रो पूर्वाधार र प¥र्याप्त सामाग्री भएकोले शिक्षकले चाहे भने सामुदायिकबाटै राम्रो नतिजा आउँछ ।’ गौतमले छोरी अपेक्षालाई निजीबाट छुटाएर सामुदायिकमा भर्ना गराएको बताए ।

सामुदायिकले गुणस्तर सुधार्न कम्प्युटर शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलाप पनि बढाएका छन् । शिक्षक नियुक्ती, अनुगमन, तालिम दिने र समन्वय गर्नुपर्ने जिल्लाका ६ वटा गाउँपालिकाका शिक्षा शाखा भने रित्तै छन् । ती शाखाका कर्मचारी अभावमा कतिपय बिद्यालयले शिक्षक नियुक्ती गर्न नसकेको गुनासो गरे । ईकाईका अनुसार जिल्लामा अझै झण्डै ५ सय शिक्षक आवस्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->