शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाढीसंँगै बग्यो गलकोटका श्रीसको उद्यमी बन्ने सपना

बाढीसंँगै बग्यो गलकोटका श्रीसको उद्यमी बन्ने सपना


  • Dhorpatan News
  • बैशाख १५ २०७६, आइतबार

गलकोट ,१५ बैशाख – गत वैशाख १ गते आएको बाढीले गलकोट नगरपालिका–१ दुदिलाभाटीका कर्णबहादुर श्रीसको सफल उद्यमी बन्ने सपना बाढीसँगै बगेको छ । स्वदेशमा नै केही आयआर्जनको काम गर्ने सोच लिएर चार वर्ष अघि मलेशियाबाट फर्केर सौगात कृषि तथा बङ्गुर फार्म खोलेका युवा उद्यमी श्रीसको बङ्गुरको खोरसँगै १६ बङ्गुर बाढीले बगाएपछि श्रीस सफल उद्यमी बन्ने सपना पूरा नहोला कि भन्ने चिन्तामा छन ।

छ वर्षको मलेशिया बसाइपछि गाउँमै उद्यम गर्ने सोच पलाएर स्वदेश आएका श्रीसको खोरमा रहेका ३० बङ्गुरमध्ये अविरल वर्षापछि आएको बाढीले खोला छेउमै रहेको बङ्गुरको खोरसँगै १६ बङ्गुर बगाएको थियो । “बाढीका कारण खोरसहित बङ्गुर बगाउँदा रु चार लाख बराबरको क्षति पुर्याएको छ”, श्रीसले भने, “सफल बङ्गुरपालक किसान बन्ने सपना पूरा नहोला कि भन्ने चिन्ता लाग्न थालेको छ ।” रु १५ लाखको लागतमा बङ्गुर फार्म खोलेका श्रीसले बङ्गुरको मासुभन्दा पाठा बेचेर राम्रो आम्दानी गर्दै आएका थिए ।

“मासुका लागि उत्पादित बङ्गुर बेचेर खासै नाफा भएन, पछि उन्नत जातका बङ्गुरका पाठा बेच्न थालेपछि राम्रै भएको थियो एकाएक दैव लाग्यो”, श्रीसले भने । श्रीसले पाठा उत्पादन गरी जिल्ला तथा जिल्ला बाहिर निर्यात गरेर सफल उद्यमी बन्ने सपना बाढीमा बगेका बङ्गुरसँगै बगेको बताए । श्रीसले एक महीनाको पाठालाई रु चार हजार र मासुका लागि ठूलो बङ्गुरलाई रु ४५ हजारसम्ममा बिक्री गर्दै आएका छन् ।

श्रीसले हाल फार्ममा रहेका १४ बङ्गुरलाई समेत राख्ने ठाउँ नभएका कारण समस्यामा परेको बताए । उनले राहतका लागि गलकोट नगरपालिकाबाट रु २० हजार सहयोग प्राप्त गरेको भन्दै प्रदेश सांसद तथा सङ्घीय सांसदले उचित राहतको व्यवस्थाका लागि पहल गर्ने आश्वासन दिएको बताए । वैशाख १ गते आएको बाढीले दुदिलाभाटीमा सडक, खानेपानी, विद्युत्, गहुँबालीमा ठूलो क्षति गरेको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले बताए । युवा उद्यमी श्रीसले बङ्गुर फार्मसँगै व्यावसायिकरूपमा टमाटर, लसुन, प्याजको खेतीसमेत गरेका छन्  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->