पोखरा ,१६ बैशाख – गोरखापत्र संस्थानले पोखरामा प्रदेश सम्वाददाताहरुका लागि दुईदिने तालीम संचालन गरेको छ । सो तालिम आईतवारबाट शुरु भएको छ । तालीमलाई औपचारिकता दिँदै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले गोरखापत्रसँग प्रदेश सरकारले सहकार्य गर्ने बताए । उनले देशकै जेठो पत्रिका गोरखापत्रको स्तरन्नोतिका लागि प्रदेश सरकार सहयोग गर्नु तयार भएको जनाए। मंत्री चुमानले भने ‘गोरखापत्रको अनुभूति देशका सबै ठाउँमा हुनुपर्छ ।’
गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रले देशको स्वार्थका लागि सुसूचित गर्ने बताए । उनले गोरखापत्रका बिषयबस्तुमा बिगतको भन्दा धेरै सुधार आएको उनले दावी गरे । उनले गोखरापत्रले राष्ट्रलाई अहित पुग्ने खालका समाचारलाई प्राथमिकता नदिने बताए । अध्यक्ष भण्डारीले व्यक्ति र दलीय स्वार्थ हैन राष्ट्रकै हितमा सूचना दिने प्रतिबद्धता ब्यक्त गरे ।
संस्थानका सल्लाहकार सम्पादक गोपाल खनालले आफुहरु नेतृत्वमा आएपछि ब्यवस्थापनमा सुधार आएको बताए । उनले गोरखापत्रमा पाठकले थाहा पाउने खालका परिर्वतन गरेको दावी गरे । सो अवसरमा बोल्दै सम्पादक श्रीओम श्रेष्ठले गोरखापत्रको प्रकाशन गर्न धेरै खालका चुनौतिहरु सहनु परेको बताए । उनले गोरखापत्रलाई प्रादेशिक संरचनामा छिटै लैजाने र निकट भविष्यमा गण्डकी प्रदेशबाट छुट्टै गोरखापत्र प्रकाशन हुने जानकारी गराए । कार्यक्रमको संचालन गण्डकी ब्यूरो प्रमुख चन्द्रप्रकाश शर्माले गरेका थिए ।१ सय १८ बर्ष पुरानो गोरखापत्रले ५ वटा बिधा र ३८ भाषामा आफ्नो प्रकाशन गर्दै आएको छ । गोरखापत्र प्रकासन भएको दिनलाई सरकारले संचार दिवसको रुपमा मनाउने र गरेको छ ।





