काठमाडौं, १७ बैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) सहितका विभिन्न ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । दुईतिहाइको सरकारले जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको विरोधमा विद्यार्थी संगठनहरुले मंगलबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले शिक्षा क्षेत्रमा भएको अत्यधिक शुल्क वृद्धि, माफियाकरण रोक्न , व्यापारीकरणको भण्डाफोर गर्न, महँगी, हत्या-हिंसा, बलात्कारको विरोधसहित निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिन, एनसेल, वाइडबडी, फोरजी काण्ड, सुनकाण्डलगायतका अर्बौं रुपैयाँको संस्थागत भ्रष्टाचारको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरिएको बताएका छन् ।
बालुवाटारलगायतका सरकारी जग्गामा किर्ते गरी कब्जा गर्ने भूमाफियालाई कारबाही गर्नुपर्ने, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथिको प्रतिवन्ध फुकुवा हुनुपर्ने, नक्कली नागरिकता छानबिनका गरिनुपर्नेलगायतका माग अघि सारेर विरोध प्रदर्शन गरिएको नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले बताए।
नेविसंघसँगै तीन वटा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, अनेरास्ववियु पाँचौं, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी यूनियन, राष्ट्रवादी विद्यार्थी संघ र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको आयोजनामा गरिएको विरोध प्रदर्शन माइतीघर मण्डला हुँदै नयाँ बानेश्वरसम्म पुगेको थियो । ११ वटै विद्यार्थी संगठनहरुको विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।





