काठमाडौं, १९ बैशाख – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वैचारिक नेता हुन् घनश्याम भुषाल । सरकार र पार्टी सञ्चालनमा देखिएका विसङ्गतीविरुद्ध खरो टिप्पणी गर्न रुचाउने नेता भुषालले बिहीबार पनि त्यस्तै टिप्पणी गरे । कार्ल मार्क्सको २०१ औँ जन्मजयन्ती कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा नेता भुषालले सरकारको कार्यशैलीबारे सटिक धारणा राखेका हुन् ।
“देशको अवस्था भन्नुपर्दा जहिल्यै मलाई लोकगायक स्व.प्रचण्डबहादुर बुढाथोकीको सम्झना आउँछ । विशाल जीउज्यानका उनी मञ्चमा उक्लनेबित्तिकै ऐंठन गाउन थाल्थे, देशको हालत कस्तो ? छाती पिटीपिटी रुनुजस्तो छ !” देशको वर्तमान अवस्था अभिव्यक्त गर्न प्रचण्ड बुढाथोकीको यही गीत पर्याप्त हुने र यसले नै देशको साँचो ऐंठन अभिव्यक्त हुने उनको धारणा थियो ।
सिद्धान्त बोन्साइको झाङ
मार्क्सवादी चिन्तकसमेत रहेका भुषालले पार्टी सिद्धान्तको विमर्शबाट पाखा लागि सकेको धारणा राखे । तत्कालीन एनेकपा माओवादीले हेटौंडा महाधिवेशनबाट सिद्धान्तको च्याप्टर क्लोज गरिसकेको सन्दर्भ कोट्याउँदै उनले भने, “एमालेको नवौँ महाधिवेशनले गरेका निर्णयहरू केन्द्रीय कमिटीको बैठकमा पनि छलफल भएन ।”
संगठन निर्माणमा विचार, दृष्टिकोण, क्षमताका आधारमा भन्दा नेता–कार्यकर्ता गुटबाट आउन थालेको, मूल्याङक्न र हैसियत निर्धारण पनि गुट, समूहले नै गर्ने गरेको उनको निष्कर्ष थियो । “मैले गएको स्थायी कमिटीको बैठकमा पनि भनेको थिएँ, अहिले पनि त्यही ठाउँमा छु, जिम्मेवारी दिँदा, थुक, खकारआदि जाँचेर दिइन्छ,” उनले दोहोर्याए ।
सैद्धान्तिक विमर्शका बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले नेकपाको नेतृत्वले सिद्धान्तको मूल जरा काटिसकेको निष्कर्ष निकाले । उनले सिद्धान्तका सबालमा जापानिजहरूले विशाल रुखको समेत जरा काटेर गमलामा सजाउने शिल्प (बोन्साइ)को उपमा दिए । “नेकपाका सिद्धान्त त्यही बोन्साइजस्तै भएको छ । विशाल रुखको जरा काटेर गमलामा राखिएको छ । माथि आउन दिइएको छैन,” उनको दृष्टिकोण थियो । उनले कम्पनी, क्लब पनि निश्चित, नियम, विधान, पद्धतिमा सञ्चालन हुने तर नेकपा कम्पनी, क्लब पनि नरहेको उनको निक्र्यौल थियो ।
२० हजारलाई मार्क्सवाद पढाउने
कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समितिले यस वर्ष २० हजारलाई मार्क्सवाद पढाउने तयारी गरेको छ । भुषालका अनुसार गत वर्ष नै १० हजारलाई मार्क्सवाद पढाउने तयारी गरिएको भए पनि एकता प्रक्रिया विस्तारका कारण सम्भव भएको थिएन । यसवर्ष प्रदेशै पिच्छे कार्यक्रम आयोजना गरेर मार्क्सवाद पढाइने उनले योजना सुनाए । विशेष गरेर कलेजमा प्राध्यापक, सैद्धान्तिक विचार–विमर्शमा रुची राख्नेहरूलाई माक्र्सवाद पढाएर मुलुकलाई प्रतिक्रान्ति र पश्चगमनको दिशातिर जानबाट रोक्ने योजना मार्क्स द्विशतवार्षिकी समारोह समितिको छ ।समितिले आइतबार प्रज्ञा प्रतिष्ठानमा प्रचवन कार्यक्रमसमेत आयोजना गरेको छ ।





