म्याग्दी, २० बैशाख – पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनालाई राष्टिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ ।
मन्त्री परिषदको मंगलवार सम्पन्न बैठकले गरेका विभिन्न ९ ओटा निर्णयहरुमध्ये दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनालाई जलविद्युत आयोजना निर्माणका लागि राष्टिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार पत्रकार सम्मलेन गरी उक्त निर्णयहरु सार्वजनिक गरिएका हुन्।
यसका साथै फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामिण सडक स्तरोन्नति र महाकाली सिंचाइ आयोजनाको नहर निर्माणका लागि पनि राष्टिय बन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ ।
धौलागिरी कालिका हाइ्रड्रो लिमिटेडले कुल ५ अर्व १४ करोड लागतमा दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । उक्त जलविद्युत आयोजनामा संस्थागत पुंजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिने हाईड्रोका अध्यक्ष विनोद कुवँरले बताए । आयोजनाको गत फागुनमा महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले उद्घाटन गरेकी थिइन् ।
आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले ३ अर्व ५० करोड ऋण लगानी गर्ने एकबर्ष अगाडी नै सम्झौता भैसकेको अध्यक्ष कुवँरले जानकारी दिए ।
आयोजामा दक्षिण कोरिया, हङकङ, युके लगाएत विश्वका विभिन्न देशका साथै काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीको वित्तिय संस्था म्याग्दी ईन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवर्धकरहेका छन् ।
पानीको वहाब ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रेस हेड १०४ मिटर हुने छ । रन अफ द रिभर शैलीको आयोजना दरबाङ देखि दुई किलोमिटर माथी म्याग्दी खोलामा बाँध बाधेर ५ किलोमिटर टनेलमा २ सय मिटरको पेनस्टक पाईपबाट मालिका र मंगला गाउँपालिकाको सिमानमा अवस्थित बलौटेमा रहने पावर हाउसमा झारी विद्युत उत्पादन गरिने छ ।
विद्युत खरिद सम्झौता (पिपिए) मा प्राधिकरणले प्रर्वधकसंग बर्षातको ८ महिना प्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति युनिट ८ रुपैयाँ ४० पैसा रहने उल्लेख गरिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत १४ किलोमिटर लामो १ सय ३२ के.भि ट्रान्समिटर लाईन हुँदै डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ । योजना आगामी २०६९ सालसम्म निर्माण सम्पन्न गरिने अध्यक्ष कुवँरले दावि गरेका छन् ।





