बागलुङ,२१ बैशाख – जिल्लाकै जेठो बिद्यामन्दिर माबिको निर्माण सम्पन्न अत्याधुनिक भवनको आगामी बुधबार उद्घाटन गरिने भएको छ । २०७२ सालको भूकम्पले भत्केपछि अभिभावकको दानचन्दा र महायज्ञमा संकलित रकम समेत जुटाएर बनेको भवन बिद्यालयका पूर्व विद्यार्थी तथा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले उद्घाटन गर्ने तय भएको प्रधानाध्यापक जगन्नाथ आचार्यले बताए ।
भूकम्पले भत्केपछि बिद्यालयले संचालन गरेको महायज्ञमा संकलन भएको ५ करोड रुपैयाँले यो भवन बनाइएको थियो । बिसं १९९७ सालमा स्थापित यो बिद्यालयको पुरानो भवन भूकम्पले भत्केपछि २६ कोठे आधुनिक भवन बनाइएको हो । यो भवनका लागि १२ लाख देखि १५ लाख रुपैयाँ सम्म दान गर्ने अभिभावकको नामबाट कोठाहरको नामाकरण समेत गरिएको निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीले बताए ।
यो बिद्यालयमा हाल १ हजार २ सय बालबालिका पढ्छन् । कक्षा ११ र १२ मा सबै संकायको पढाई हुने भएकोले बिद्यार्थीको संख्या पनि अत्याधिक छ । धेरै बालबालिका पढ्ने बिद्यालय भएपनि बागलुङ नगरपालिकाले भने बिद्यालयको पुन निर्माणमा कुनै सहयोग नगरेको व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले टिप्पणी गरे ।
‘हामीले धेरै पटक आग्रह गरेका थियौं, तर भवन वा अन्य संरचनामा पनि चासो र सहयोग भएन’ राजभण्डारीले भने, ‘पर्खाल निर्माण, छात्रावास, कक्षा कोठा वा खेल मैदान जस्ता क्षेत्रमा नगरपालिकाले चासो पनि राखेको छैन ।’ स्थानीय सरकारले सहयोग नगरेपनि अभिभावककै दानबाट सुविधा सम्पन्न भवन बनाउन सकिएको उनले बताए ।
ब्रिटिस वेयलफेयरको सहयोगमा बिद्यालयले थप ८ कोठाको भवन बनाएको छ भने शिक्षा बिभागको ६० लाख सहयोगमा रकम थपेर १ करोडको छात्रावास भवन पनि बनाइएको उनले बताए । काठमाण्डौमा बिभिन्न काम गरेर बसेकाहरुले २ करोड सहयोग गरेको प्रअ जगन्नाथ आचार्यले बताए । अर्को दुई करोड अभिभावकले सहयोग गरेका थिए । बा“की एक करोड रुपैया“ बाहिरी दाताबाट प्राप्त भएको हो ।
बिद्यालयले बाल कक्षा र नर्सरी पनि संचालनमा ल्याएको छ । ३५ बालबालिका बाल कक्षामा अध्यनरत छन् । पूर्व विद्यार्थीहरुकै साथ लिएर ती बालबालिका लाई निशुल्क खाजा र खानेपानीको धारा समेत निर्माण भएको छ । युरो गार्डको व्यवस्था गरेर शुद्ध पानी खुवाउने व्यवस्था गरिएको हो । बिद्यालयले भौतिक संरचनामा प्रगती गरिसकेकोले अब गुणस्तर सुधारमा पहल गरिरहेको आचार्यले बताए । त्यसका लागि कक्षा १ देखि कक्षा ७ सम्म अंग्रेजी माध्यमको पढाई पनि थालिएको छ ।
अब सबै शिक्षकलाई आफ्ना बालबालिका बिद्यालयमै ल्याउन दवाव दिने योजनामा भएको व्यवस्थापन समितिका सदस्य देवबहादुर श्रेष्ठले बताए । ‘आफ्ना बालबालिका पढाएर गुणस्तर शिक्षा दिन सक्छु भन्ने शिक्षकलाई लाग्यो भने गुणस्तर पनि सुधार हुन्छ’ श्रेष्ठले भने, ‘शिक्षकबाट अगुवाई भयो भने अभिभावक पनि विश्वस्त भएर गुणस्तर बढाउन सकिन्छ ।’ शुक्रवार बिद्यालयले पत्रकार सम्मेलन गरेर भवन उद्घाटनको निम्तो समेत दिइएको थियो । सबै अभिभावक र चन्दादातालाई निमन्त्रणा कार्ड पु¥याउन नसक्दा पत्रकार सम्मेलन मार्फत सबैमा सूचना प्रवाह गरिएको समेत उनले बताए ।





