पोखरा,१३ असार – समृद्ध प्रदेश बनाउँछु भन्ने, योजना चाहिँ अलिअलि भाग लगाउने, यसरी प्रदेश समृद्ध बन्दैन । सांसदहरुले विरोध गर्छन भनेर योजना चाहिँ दिने, पारिदिने तर बजेट हेर्दा चाहिँ त्यो योजना कहिले पुरा हुने हो ?
प्रदेशसभामा नियमितजसो यस्ता गुनासाहरु सुनिने गरेका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथिको छलफल अहिले गण्डकी प्रदेशसभामा चलिरहेको छ । बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल सकिएतापनि मन्त्रालयगत छलफल भने सुरुवातमै छन् । बुधबारदेखि प्रदेशसभामा भौतिक पूर्वाधार विकास मन्त्रालयगत अन्तर्गतका छलफल सुरु भएको छ ।
उसो त, मन्त्रालयगत छलफल भनिएतापनि छलफलको केन्द्र भने, “२ दिनसम्म स्थगित संसद बैठक” कै केन्द्रमा घुमिरहेको छ । असार ६ र ८ गते सभामुखले सदन रोके । कारण चाहिँ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा गम्भीर कानूनी त्रुटि रहेको र बजेट कार्यान्वयन हुन नसक्ने भन्दै बजेट सच्याउनुपर्ने माग राखेको थियो । सदनमार्फत सोही कुराको जानकारी गराउने कांग्रेसको मनसाय भएतापनि २ दिनसम्म सदन नै स्थगित भयो, सूचना टाँसेर ।
९ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रुटि भएको र सच्याउने बताए । १० गते छुटेका योजना भन्दै सरकारले २३३ वटा नयाँ योजनाहरुको बजेट सहितको विवरण सांसदहरुलाई दियो । कांग्रेसको माग सकियो । मन्त्रालयगत छलफल पुनः सुरु भयो । विशेषतः सरकार र कांग्रेससँगको छलफलमै २३३ योजनाहरु छुटेको भन्दै पछि रेडबुकमा नभएतापनि सरकारले ल्याएको थियो । कांग्रेसले तोकेकै कतिपय योजनाहरु २३३ वटा योजनामा समावेश छन् ।
तर, सदनमा बिहिबार पनि ‘छुटेका योजनाहरु’ कै चर्चा भयो । प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाका थापाले सत्ता र प्रमुख प्रतिपक्षी दुवैलाई व्यंग्य गरे ।
मुख्य प्रतिपक्षी र सरकारले राती बैठक बसेर ल्याएको छुटपत्र गण्डकी प्रदेशकै अनौठो विषय बनेको उनको टिप्पणी थियो ।
“पञ्चायतकाल सुनेको र अप्रत्यक्ष देखेको पनि थिएँ, बहुदलमा पनि सुने र देखेँ । अर्थमन्त्रीले पढ्दाखेरि पेज फर्काएर पढ्ने गरेको मैले सुनेको छु । अहिले गण्डकी प्रदेशको बजेट प्रस्तुत अर्थमन्त्रीले पेज फर्काउनुभएन । तर, रातो किताब पढ्दादेखि प्रणालीगत रुपमा त्रुटि भएर छुटेको कुरा हाम्रो प्रदेशको एउटा अनौठो विषय बनेको छ ।” उनले भने, “त्यतिमात्रै होईन, त्यही विषयले ठगेर हाम्रो प्रतिपक्षी दलका साथीहरुले अवरोध गर्ने गरेर २ दिनसम्म सदन रोकिएको छ । र, पछि एउटा छुटपत्र जस्तो यहाँ आएको छ, त्यही छुटपत्रले प्रतिपक्षीको साह्रै चित्त बुझेर यो अवरोध हुनहुन लागेको सदन सुचारु भएको छ, यो खुशीको कुरा बनेको छ । त्यो छुटपत्रमा हे¥यौँ, सत्तापक्ष र प्रमुख प्रतिपक्षीको एजेण्डा नै समावेश भएको होला, हामीले यसो हे¥यौँ, सायद त्यो राती बस्ने बैठकमा हामीलाई पनि बोलाएको भए, हामीले पनि त्यो चोरदुलोबाट आउने छुटपत्रमा कुनै योजना जनताको लागि समावेश त गर्न सक्थ्यौँ नि । यो एउटा हाम्रो प्रदेशको अनौठो ईतिहास बनेको छ ।”
यस्तै, बजेट ल्याउँदा असमान व्यवहार गरिएकोमा पनि उनले आपत्ति प्रकट गरे । “अर्कोतिर फेरि, मह खाने कुरा पनि भएको छ । मह काढ्नेले हात चाट्नु स्वभाविक नै हो । चाट्नुस, मलाई कुनै आपत्ति छैन् । तर, हात चाट्दाचाट्दै भाँडो रित्ताएर बा, आमा, छोराछोरी, नातिनातिलाई नदिने अवस्था सिर्जना नगर्नुहोस् । यसो गर्दा राम्रो हुँदैन ।” उनले भने ।
अर्का, कांग्रेसका सांसद मणिभद्र शर्मा कँडेलले कांग्रेसले लिएको बजेटबारेको कानूनी अड्चनकै बारेमा बोले । आमजनताले सरोकार राख्ने बजेटलाई हतारमा पेश गर्दा दुर्घटना हुनसक्ने उनले तर्क गरे । बजेटमा योजना राखिएका तर वार्षिक विकास कार्यक्रमले समावेश नगर्दा सरकारमाथि नैतिक चुनौती रहेको उनले बताए । यसलाई समयमै सच्याउन उनले सुझाव दिए ।
तस्बिर ः कृष्ण थापा, राजमो





