बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी प्रदेश : स्थानीय तहका पदाधिकारीको भत्ता बढ्ने

गण्डकी प्रदेश : स्थानीय तहका पदाधिकारीको भत्ता बढ्ने


  • Dhorpatan News
  • असार १७ २०७६, मंगलबार

पोखरा, १७ असार – गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीहरुको भत्ता बढ्ने भएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहका पदाधिकारीको सेवासुविधामा विभेद भएको भन्दै ऐन संशोधन गरेर बढाउने बताएका हुन् । उनका अनुसार आगामी महिनादेखि लागू हुनेगरि भत्ता बढ्नेछ । भत्ता बढाउन गण्डकी प्रदेश सरकारले २०७५ वैशाख २४ गते राजपत्रमा प्रकाशन भएको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ लाई संशोधन गर्नुपर्छ ।
उक्त ऐनमा व्यवस्था भएअनुसार गाउँपालिकाका प्रमुखले ३१ हजार, उपाध्यक्षले २६ र वडाध्यक्षले १८ हजार रुपैयाँ मासिक सुविधाबापत पाउँछन् । कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरुले भने मासिक क्रमशः ९ हजार र ६ हजार रुपैयाँ बुझ्दै आएका छन् । ऐन संशोधन गर्दा कार्यपालिका सदस्य र गाउँसभा सदस्यको मासिक सुविधा भने बढ्ने भएको छ ।
गाउँसभा र नगरसभा पदाधिकारीको सुविधा निर्वाचित पदाधिकारीको ५० प्रतिशतसम्म दिन सकिने उनले बताए । हाल वडाध्यक्षले पाउने मासिक सुविधाको ३३ प्रतिशत रकम गाउँसभा सदस्यले पाउँदै आएका छन् । यसलाई बढाएर ५० प्रतिशतसम्म पु¥याउने मुख्यमन्त्री गुरुङले जानकारी दिएका हुन् ।
यस्तै नगरप्रमुखले ३५ हजार, उपप्रमुखले ३०, वडाध्यक्षले २०, कार्यपालिका सदस्यले १० र नगरसमा पदाधिकारीले ७ हजार मासिक सुविधा पाउँदै आएका छन् ।
महानगर प्रमुखले भने ४३ हजार, उपप्रमुखले ३८, वडाध्यक्षले २५ हजार, कार्यपालिका सदस्यले १२ हजार ५ सय र नगरसभा सदस्यले ८ हजार ३५० रुपैयाँ मासिक भत्ता बुझ्ने गरेका छनु ।
सबै स्थानीय तहका गाउँसभा र नगरसभा पदाधिकारीको सुविधा बढ्नेछ ।
जिल्ला समन्वय समितिमा भने सबैभन्दा बढि अपमान भएको मुख्यमन्त्रीको ठहर छ । “जिल्ला समन्वय समितिको सदस्यको ११ हजार मात्रै छ, यतिधेरै अपमान भएको छ, यो विभेद सकारात्मकको लागि थियो । पाउँदै नपाउनेको लागि पाउने बनाउनलाई विभेद भएको थियो । यसपटक अर्को तलब आउँदा १० को अहिले १५ बनाउने कि भन्ने सोचेका छौँ ।” उनले भने ।
तर, ऐन अनुसार जिल्ला समन्वय समितिका सदस्यहरुले मासिक ११ हजार रुपैयाँ पाउँछन् । समन्वय समितिका प्रमुखले ३८ र उपप्रमुखले ३० हजार रुपैयाँ मासिक सुविधा पाउँछन् ।
यसबाहेक मुख्यमन्त्रीले स्थानीय तहका पदाधिकारीहरुलाई बैठक भत्ता र यातायात भत्ता पनि दिईनुपर्ने बताए । ऐनमा बैठक भत्ताको कोलम राखेतापनि सुविधा भने दिईएको छैन् । ऐन संशोधन मार्फत प्रदेश सरकारले बैठक भत्ता र यातायात भत्ता पनि दिने उनले संकेत गरे ।
“प्रदेशसभाका सांसदले बैठक भत्ता, राष्ट्रिय सभाको सदस्यले बैठक भत्ता खाने ? गाउँसभा नगरसभाकोले बैठक भत्ता खानुपर्दैन ? उनीहरुको पेट छैन, उनीहरुले यातायात भत्ता खाने, उनीहरुलाई पर्दैन ?” उनले भने, “त्यसैले गाउँसभा र नगरसभाको सदस्यहरुको बैठक भत्ताको व्यवस्था गर्नुपर्छ । यातायातको पनि व्यवस्था गर्नुपर्छ, जसले सवारीसाधन चलाउँछ उसले यातायात भत्ता पाउँदैन् । यति गरेपछि गतवर्ष दिन नसकेको न्याय पुरा गर्ने भन्ने सोचिरहेका छौँ ।”
मन्त्रिपरिषदको गत वैशाख २२ गतेको निर्णयबाट प्रदेश सांसदहरुको बैठक भत्ता ७ सय ५० रुपैयाँबाट बढाएर एक हजार पु¥याईएको छ । यस्तै, सांसदहरुलाई यातायात सुविधाबापत प्रति बैठक ७ सय ५० रुपैयाँ पाउँछन् । राजधानीमै घर हुने सांसदले पनि मासिक ७ हजार ५ सय रुपैयाँ मर्मतको नाममा लिन्छन् । दलका सचेतकलाई सवारी साधन उपलब्ध नभएसम्म मासिक १० हजार रुपैयाँ बुझ्दै आएका छन् ।
“प्रदेश कानून अनुसार भनेको छ । हामीले त्यो सशर्त अनुदानको माध्यमबाट माथिबाटै पाउने कुरा हो । संघले १ हजार खान्छ भत्ता, हाम्रो बैठक भत्ता ७५० थियो, माननीयहरुले साहैै्र थोरै भयो भनेपछि १ हजार बनाएका छौँ । संघको नजरमा, जनताको नजरमा तडकभडक देखिने नगरौँ, तर न्यायपूर्ण र आवश्यक काम चाहिँ गरौँ । हामीले श्रमलाई सम्मान गछौँ, श्रम गर्ने मान्छेलाई तलब भत्ता दिन कन्जुस्याईं गर्नुपर्दैन् ।” मुख्यमन्त्री गुरुङले भने ।
अतिरिक्त सुविधा नलिने तर न्यायपूर्ण सुविधा भने लिने उनले बताए ।
स्थानीय तहको सेवासुविधा कम हुनुमा संविधान बनाउँदा गल्ती भएको उनले बताए ।
“प्रदेशसभाका, राष्ट्रियसभाका मान्छेलाई हात्तीसँग तुलना गर्ने, हात्तीले १० भारि घाँस खान्छ, घाँस खान नपाए हात्ती बाँच्दैन, उसलाई धेरै चाहिन्छ, उ ठुलो छ । गाईलाई दुई भारि घाँस चाहिन्छ । बाख्रालाई एकमुठा घाँस त चाहिन्छ होला । बाख्रा सानो भनेर घाँस चाहिँदैन भन्ने ?” मुख्यमन्त्रीले प्रश्न गरे ।
राष्ट्रियसभा, प्रदेशसभाको अधिकार उल्लेख गरिएको तर, गाउँसभा, नगरसभाको अधिकारको व्यवस्था नहुनु संविधान निर्माणताकाको गल्ती भएको र अब व्यावहारिक कानून बनाएर सच्याईने उनले बताए ।
“हामीले संविधान बनाउँदाखेरि गल्ती गरेपनि अब हामीले व्यवहारमा कानून बनाउँदा सच्याउनुपर्छ ।” उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->