शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सडक निर्माणको २२ वर्ष पुग्दा समेत सडक अझै हिलाम्मे र धुलाम्मे

सडक निर्माणको २२ वर्ष पुग्दा समेत सडक अझै हिलाम्मे र धुलाम्मे


  • ढोरपाटन संवाददाता
  • असार १८ २०७६, बुधबार

बागलुङ, १८ असार – जैमिनी नगरपालिकाको केन्द्र रहेको कुश्मीसेरा बजार सदरमुकामदेखि २१ किमी दक्षिणमा पर्छ । यो नगरपालिका धुले सडकले मात्र जोडिएको छ । तत्कालिन जिबिसले २०५४ मा निर्माण थालेको यो सडकखण्ड २२ बर्ष पुग्दा पनि हिलाम्मे र धुलाम्मे छ । यो सडक खण्डमा कति रकम खर्च भयो भन्ने यकिन तथ्यांक कतै छैन । कहिले जिविस, कहिले आरआईडिपी, कहिले ड्रिलिप र कहिले स्थानीय तहको बजेट लगानी परेको छ । ‘झण्डै एक अर्ब खर्च भयो होला, तर अझै सेरा जानेभन्दा कर्मचारीदेखि सर्वसाधारण अप्ठ्यारो मान्छन्’ स्थानीय काशीराम आचार्यले भने, ‘अहिलेसम्म ६ जना शिर्ष नेताले कालोपत्रेको आश्वासन दिएर गए, केही परिवर्तन भएन ।’ अहिले पनि खाल्डाखुल्डी र धुलाम्मे यात्रा गर्नुपर्ने बाध्यताले बर्षातमा समस्या पर्ने भन्दै कुश्मीसेराबासीले खाद्यान्नको जोहो गर्न थालिसकेका छन् ।
एशियाली बिकास बैंकको ऋण सहयोगमा शुरुवातमा कामका लागि खाद्यान्न कार्यक्रम मार्फत खुलेको ट्रयाकमा करोडौ खर्च भएको थियो । यो खण्डमै दोश्रो पटक एडिबीकै सहयोगमा १६ करोड रुपैयाँ लगानी गरियो । विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले यो सडक ग्राभेलको काम गरेको थियो । २०७० देखि ०७२ सम्मको ठेक्का सम्झौता २०७३ मा पुरा भयो । बाटो हस्तान्तरण भएकै बर्ष पनि सहज यात्रा भएन । २१ किमी सडकमा यात्रीले अहिले पनि ३ सय रुपैयाँ भाडा तिरेर जोखिमको यात्रा गर्नुपर्छ । स्थानीय तह गठन पनि यो सडक बागलुङ र जैमिनी नगरक्षेत्रमा पर्छ । स्तरोन्नती र कालोपत्रे गर्न नगरको बजेटमा साथ दिने दाताको खोजी भैरहेको नगर प्रमुख ईन्द्रराज पौडेलले बताए । नगरपालिकाले चालु बर्ष कुश्मीसेरा बजारमा कालोपत्रे गर्ने योजना बनाएको थियो । उपभोक्ता समिति समेत सक्रिय नभएपछि यो काम अलपत्रै भयो । ‘काम गर्ने भनेका थियौं, उपभोक्ताबाट संकलन हुने बजेट समयमा उठ्न नसकेपछि रोकियो’ उपभोक्ता समितिका अध्यक्ष धनपति शर्माले भने, ‘अर्को बर्ष काम गर्ने गरी तयारी गरेका छौं ।’

चालु बर्ष नगरपालिकाले २४ लाख बिनियोजन गरेको थियो । त्यसमा झण्डै १० लाख उपभोक्ताले थप्नु पथ्र्यो । नथपेपछि यो बजेट संचित कोषमा गएको छ । ‘संचित कोषमा गएको रकम अर्को बर्ष त्यही सडकमा पर्छ भन्ने छैन’ पौडेलले भने, ‘नगरपरिषदबाट पास भयो भने पर्ला, नत्र भन्न सकिने अवस्था छैन ।’ खाल्डोमा रहेको यो बजार बर्षातमा हिलाम्मे हुने गर्छ । साँघुरो र खाल्डोको बजार भएकोले घरभित्रै पानी पस्ने समस्या छ । नाली काट्ने र कालोपत्रे गर्ने योजना अलपत्र परेपछि स्थानीय आक्रोसित छन् । ‘गर्ने गर्ने भनेरै यस्ता धेरै बर्ष गएका थिए’ आचार्यले भने, ‘नगरपालिकाले अनुदानको बजेट नदिएपछि कसरी पुरा हुने ?’ उपभोक्तालाई समेत ऋणको भार बोकाउनु पर्ने बाध्यताले चाहेर पनि तोकेको काम गर्न नसकेको शर्माको दावी छ । मुख्य बजार भित्रको १ सय ५० मीटर चालु बर्ष कालोपत्रे गर्ने योजना थियो । कुश्मीसेरा बजारबाटै बागलुङतर्फ आउने सडकको डेढ किमी सडक भने स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत कालोपत्रे गरिएको छ । २ करोड लागतमा निर्मित यो सडक तोकेभन्दा साँघुरो भएको टिप्पणी समेत भएको छ । यो सडककै बाटो भएर दमेक, पैयुँथन्थाप, राङखानी र धुल्लुबास्कोटहुँदै बरेङ पुग्नुपर्छ । लामो सडक खण्डको बाटो भएपनि साँघुरो बनाएपछि टिकाटिप्पणी शुरु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->