पोखरा, १९ असार – गण्डकी प्रदेशका ३० हजार विद्यार्थीहरुको मु्टु र नशासम्बन्धि रोगको निशुल्क परिक्षण गरिने भएको छ । काठमाण्डौस्थित न्युरो फाउण्डेसन नेपालले आगामी ३ वर्ष अर्थात, सन् २०२२ भित्र प्रदेशका ११ जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको हो । फाउण्डेसनका अध्यक्ष डा. वसन्त पन्तले चीनको एक विश्वविद्यालयकासँगको सहकार्यमा शिविर सञ्चालन गर्नेछन् । गण्डकी प्रदेशको बुधबारको मन्त्रिपरिषद बैठकले उक्त शिविर सञ्चालन गर्न अनुमति दिएको छ ।
यस्तै, प्रदेश सरकारले अन्नपूर्ण आधार शिविर अन्नपूर्ण गाउँपालिकाको छोम्राङ्ग नजिक आपतकालीन सहायता केन्द्र स्थापना गर्ने भएको छ । मनाङ र मुस्ताङमा डिजिटल हेल्थ केयर सोलुसन सेन्टर पनि स्थापना गर्ने भएको छ । यसको स्थापनाको लागि प्रदेश सरकारले संघीय सरकारसँग अनुरोध माग गरेको छ ।
हिमाली जिल्लामा आपतकालीन उद्धारको निम्ति सरकारले हेल्थ केयर सेन्टर स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
म्याग्दीको तातोपानीमा भने ड्रोन एजुकेशन ल्याब खोलिनेछ । “ड्रोनबाट आपतकालीन उद्धारमा मान्छेहरुको खोजवीन गर्ने, जोखिममा परेका मान्छेहरुलाई कसरी उद्धार गर्ने विषयमा कोरियन टोलीले अध्यापन गराउनेछ ।” बस्नेतले भने ।
यसको लागि अनुमानित ५ करोड रुपैयाँ लाग्ने र सबै खर्च कोरियन सरकारले नै अनुदानमार्फत दिनेछन् ।
प्रदेशमा सञ्चालित मुख्यमन्त्री नमुना वातावरणमैत्री कृषि गाउँ कार्यक्रममा खटिएका अस्थायी कर्मचारीको म्याद थप गर्ने भएको छ । चालु आर्थिक वर्षमा १० करोड ८० लाख रुपैयाँको यो कार्यक्रम प्रदेशका ३६ वटै निर्वाचन क्षेत्रमा सञ्चालित छ । उक्त कार्यक्रम सञ्चालनकै लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत फागुनमा ४० जना अस्थायी कर्मचारी नियुक्त गरेको थियो । आर्थिक वर्षको अन्त्यसम्मको लागि करारमा राखिएका ती कर्मचारीको म्याद बढाउने प्रस्ताव बुधबारको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषदकै आर्थिक सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको हो ।





