बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

फेसबुकमा यति बजेट पारेँ भनेर भन्ने अनि सदनमा असन्तुष्टि पोख्ने ? 

फेसबुकमा यति बजेट पारेँ भनेर भन्ने अनि सदनमा असन्तुष्टि पोख्ने ? 


  • Dhorpatan News
  • असार २० २०७६, शुक्रबार

पोखरा, २० असार – सत्तासीन वा प्रतिपक्षी, सबै सांसदहरुले असार ५ गते वार्षिक कार्यक्रम (रेडबुक) हात परेको दिनबाट जिल्लाका नेता कार्यकर्तालाई फोन गरेर भने, यो क्षेत्रमा, यो योजनामा यति बजेट परेको छ है । कतिपय सांसदहरु आफैँले रेडबुकमा समाविष्ट योजनाहरुको फोटो खिचेर नै फेसबुकमा हाले । जस लिने होडबाजीमा सत्ता र प्रतिपक्षका सांसदहरुबिच प्रतिष्पर्धा नै चल्यो ।

जिल्ला तहका कार्यकर्ताहरुले पनि त्यही पछ्याए । प्रदेशका सात मन्त्रीहरुमा भने त्यो संयमता देखियो । भलै आफूहरुले हालेनन्, तर सोसाईटीमा परिन्न कि, काम गरेनन कि भन्ने भयका कारण स्वकीय सचिवमार्फत मन्त्रीले पहल गरेको भनेर योजनाहरुको विवरण सामाजिक सञ्जालमा पोखिए ।

३२ अर्ब १३ करोडको बजेट सामाजिक सञ्जालमा योजना र शिर्षकसहित २४ घण्टामै सामाजिक सञ्जालभरि छ्यापछ्याप्ती भए ।

सत्ता र प्रतिपक्षी दुवैले फेसबुकको भरपुर उपयोगमार्फत आफ्नो परिश्रम देखाएपछि रेडबुकका योजनालाई लिएर मन्त्रालयगत छलफल सुरु भयो । सैद्धान्तिक रुपमा सत्तासीन नेकपाका सांसदहरुले जबर्जस्ती सरकारले ल्याएको बजेटमा सहमति जनाए, प्रतिपक्षीले चाहिँ विरोधै ग¥यो ।

प्रतिपक्षी भएकै कारणले, दुईतिहाईको बहुमतको कारणले योजना नपारेको भन्ने असन्तुष्टि पोखिए । स्वयम् सत्तासीन दलका सांसदहरुले नै असन्तुष्टि समेत जनाए ।

अझैपनि मन्त्रालयगत छलफल सकिएको छैन, अन्तिम टुंगोमा पुगेको छ । गुनासो भने उस्तै छ । यस्तै गुनासोबाट आजित भएर प्रदेशको बजेट प्रस्तुतकर्ता एवम आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कडा जवाफ फर्काउन बाध्य भए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको छलफलपछि जवाफ दिँदै मन्त्री गुरुङले भने, “हामीले, हामीलाई मन परेन, अर्थात, हामीले भनेजस्तो भएन, भन्दैमा हामी दुखित हुनुपर्ने हुँदैन । कसैले अब फेसबुकमा मैले पारेँ भनेर पनि प्रचारप्रसार गरिरहेको छ एकातिर, फलानाको कारणले, यतियति बजेट यो यो जिल्लामा चाहिँ परेको छ भन्ने पनि आईरहेको छ । तर, यहाँ आउँदा सन्तुष्ट चाहिँ कोहि पनि हुनुहुन्न । सन्तुष्ट किन हुनुहुन्न त भन्दाखेरि आफुले भने अनुसार भएन । वश त्यतिमात्रै हो ।”

सांसदहरुले योजना पारेँ पनि भन्ने तर आफूले भनेको योजना परेन भनेर चित्त नदुखाउन उनले आग्रह गरे । “होला माननीय सडकले एउटा सडक भन्नुभएको थियो होला, अर्को सडक भन्नुभएको थियो होला अर्को सडक पर्न सक्छ, त्यो अर्काे ठाउँमा छ । र यसमा हामीमलाई चाहिँ सबै माननीयहरुलाई के भन्न चाहान्छु भन्दा हामी दुखित नहौँ, हामीले आफ्नो जिम्मेवारी, कर्तव्य, कार्यक्षेत्र हामीले सिकाउने हो । हाम्रो कार्यक्षेत्र हामीले बनाएको नीति, नियम विधान हामीले नै बनाएका छौँ ।”

यतिमात्रै नभई उनले सांसदहरुको काम नीति निर्माण गर्नु रहेको स्मरण गराए ।

यो जवाफ दिनुको कारणचाहिँ सदनमा प्रतिपक्षका सांसदहरुले योजना छनोटमा राजनीति गरेको, प्रतिपक्ष भनेर योजना नदिएको, दुईतिहाईको दम्भ देखाएको भन्दै सरकारमाथि प्रश्न गरेका थिए ।

सोही प्रश्नबारे जवाफ दिँदै मन्त्री गुरुङले भने, “सत्तापक्ष र प्रतिपक्ष हेरेर यो बजेट बनाईएको छैन्, संयोगवश माननीयहरुले भनेका लेखेर दिएका कुराहरु परेका हुन सक्छन्, कतिपय नपरेका पनि हुन सक्छन्, त्यसकारणले गर्दाखेरि हामी माननीय भनेको विधी निर्माता हौँ, नीति निर्माता हौँ, हामी विधायक हौँ ।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बिन्दु कुमार थापाले आफूले दिएका योजनाहरु सरकारले नियतवश छानीछानी काटेको र बिहानपखसम्म रेडबुक पढेपछि आफूलाई निद्रा नलागेको भन्दै संसदमा भावुक सम्बोधन गरेका थिए ।

अर्थमन्त्री गुरुङले त्यसको पनि कडा जवाफ दिए । “मैले दिएको योजना प¥यो, परेन भनेर रातभरि नसुत्ने गर्नुपर्छ जस्तो मलाई लाग्दैन । मलाई निदै आएन भन्ने किन ? तपाई चाहिँ नीति बनाउने हो, विधि बनाउने हो, नीति र विधि बनाउने हो हामीले राम्रो विधि र नीति बनाउने हो कानून बनाउने हो, विधान बनाउने हो, अनि त्यसपछि आएर त्यसलाई  कार्यान्वयन गर्ने भनेको सरकारले हो, संसारभरि नै त्यही नै हुन्छ ।”

यतिमात्रै होईन, मन्त्री गुरुङले प्रतिपक्षलाई विभेद ग¥यो भनेर नसोच्न सुझाव समेत दिए । नेकपाले दुईतिहाईको दम्भ देखाएर तानाशाही बन्न नखोजेकोे उनले प्रष्टिकरण दिए । “दुईतिहाईको दम्भ भनेर भन्नुभएको छ, हामीले दुईतिहाईको दम्भ देखाएकै छैनौँ, के का निम्ती देखाउने ? हामीलाई निरंकुश, तानाशाही हुनु छैन । हामीले त यही गण्डकी प्रदेशको विकासलाई अगाडि बढाउने कुरा न हो ।”

बजेटको प्रगती विवरण सोध्नेलाई सांसदहरुलाई उनले अध्ययन गर्नुस भन्ने जवाफ फर्काए । सरकारले विनियोजन विधेयकसँगै प्रगती विवरण पनि पनि पेश गरेको हुँँदा उक्त प्रगती विवरण सिरानीमा राख्नुको सट्टा अध्ययन गर्न सुझाव दिए ।

“कतिपय माननीयहरुले सोधेको सोध्यै गर्नुहुन्छ ? प्रगती विवरण कति भयो भनेर । जुनदिन बजेट पेश गरिएको थियो । त्यही दिन प्रगती विवरण पनि पेश गरिएको थियो । माननीयहरुले अध्ययन गर्नुहोस, त्यसलाई सिरानी नहाल्नुस । तपाईहरुले अध्ययन गर्नुप¥यो ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->