बागलुङ,२५ असार – मध्यपहाडी लोकमार्गसँग गाउँपालिकाको केन्द्र जोड्ने सडकको स्तरोन्नती भएपछि जिल्लाको तमानखोला गाउँपालिकाका सर्वसाधारणले सहज यात्रा गर्न थालेका छन् । साँघुरो कच्चि सडकमा दश बर्षदेखि यात्रा गर्दै आएका तमानखोलाबासीले फराकिलो सडकमा यात्रा गर्न पाउँदा सहज भएको बताए । ‘पहिले त बाटो आएपनि निकै दुःख पाईयो’ स्थानीय दिलमति घर्तीले भनिन् ‘अहिले निकै सुविस्ता भएको छ ।’
जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट १० किलोमिटर उत्तरमा पर्छ तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभान । गाउँपालिकाको केन्द्रदेखी सबै वडामा जाने मुख्य सडक हो बुर्तिवाङ– बोंगादोभान– खुंखानी सडकखण्ड । सडक ट्रयाक खुलेको दश बर्ष बितेपनि तमानखोलाका स्थानीयले सहज यात्रा गर्न थालेको एक बर्ष मात्रै भयो । एक बर्ष पहिलेसम्म मनै सिरिङ्ग हुने सडकमा यात्रा गरेका तमानखोलाबासीले अहिले भने सहज यात्रा गर्न थालेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
बुर्तिवाङदेखि बोंगादोभान सम्मको सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्तरोन्नती गरेपछि तमानखोलाको यात्रा सहज भएको हो । २०७५ साल बैशाखदेखी झण्डै दश किलोमिटर सडक स्तरोन्नतीको काम चलिरहेको छ । सडक फराकिलो बनेको र ग्राभेल समेत भएकाले तमानको यात्रा सहज भएको अध्यक्ष बुढाले बताए । एकोहोरो सवारी मात्रै चल्ने गरेको सडकमा अहिले दोहोरै सवारी चल्न थालेको उनी बताउँछन् ।
सडक फराकिलो बनेपछि यात्रा सहज मात्रै भएको छैन गाउँपालिकाको केन्द्र पुग्न लाग्ने समयको समेत बचत हुने गरेको छ । स्तरोन्नती गरिएको सडकको चौडाई नालीसहित ७.२५ मिटरको रहेको छ । उक्त सडकमा साना सवारीको आवतजावतका लागि कुनै बाधा छैन् ।
‘एक बर्ष पहिलेसम्म सडक निकै साँघुरो थियो, दोहोरो गाडी नचलेर फराकिलो ठाउँ हेरेर कुर्नुपर्ने अवस्था थियो’ गाउँपालिका अध्यक्ष बुढाले भने ‘अप्ठ्यारो ठाउँमा सजिलो भएको छ, अहिले गाडीमा बुर्तिवाङदेखि बोंगादोभान एक घण्टामै पुगिन्छ ।’ प्राधिकरणले झण्डै १६ करोड रुपैयाँ खर्चेर यो सडकको स्तरोन्नतीको काम थालेको हो ।
आगामी कार्तिकसम्म सबै काम सक्ने जिम्मेबारी पाएको कालिका प्यासेफिक जेभीले अधिकांश काम सकेको छ । भिरपहरा रहेको केही ठाउँमा कटानको काम र केही अप्ठ्यारो भू–भागमा नाली निर्माणको कामबाहेक अधिकांश काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ । सडक फराकिलो बनेपछि माल सामान ढुवानीमा समेत सहज भएको स्थानीय दिलमती घर्तिले बताईन् ।
तर, तमानखोलामा पुल नबनेका कारण बर्षातको समयमा यात्रा असहज हुने गरेको छ । उक्त सडकअन्र्तगत हुन्द्रफेदी र भालीवाङ घाटमा खोला तर्नुपर्छ । दुवै ठाउँमा पुल नबन्दासम्म बर्षातको समयमा यात्रा जोखिमपुर्ण रहेको अध्यक्ष बुढाले बताए । ‘हामीले पालिकाको केही लगानीमा पुल बनाउन सकेनौं’ बुढाले भने ‘प्राधिकरणको कार्यक्रममा पुल नभएका कारण पुल बनेनन् ।’ दुवै ठाउँमा पुल निर्माणको लागि केन्द्र र प्रदेश सरकारसँग पहल गरेको अध्यक्ष बुढाले बताए ।





