बागलुङ ,२५ असार – प्रतिनिधिसभाका सांसद तथा नेकपाका नेता देवेन्द्र पौडेलले पौडेलले नेपालका अधिकांस गुठीमा चरम भ्रष्ट्राचार मौलाएको टिप्पणी गरेका छन् ।
नेपाल पत्रकार महासंघ बागलुङ शााखाले प्रदान गर्ने नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कार बितरण कार्यक्रममा बुधवार बोल्दै उनले भ्रष्ट्राचार बिरुद्ध सरकार कुनैपनि बेला सक्रिय बन्दै पर्ने बताए ।
सरकारले हालै फिर्ता गरेको गुठी बिधेयक बारे बोल्दै पौडेलले जनदवावमा फिर्ता भएको बताए । उनले नेपालको सबैभन्दा ठूलो भ्रष्ट्राचार गुठी संस्थान र गुठीहरुमा भएको भन्दै नियमन गर्नै पर्ने आवस्यकतामा जोड दिए । ‘देशको ठूलो सम्पत्रिको दुरुपयोग र चरम भ्रष्ट्राचार छ भने गुठीमा छ’ पौडेलले भने, ‘जनताले यो कुरा बुझेको दिन सरकारलाई बिधेयक ल्याउन सबैले सघाउँछन् ।’ सरकारले आम रुपमा बुझाउन नसकेकोले बिधेयक फिर्ता लिन बाध्य भएको उनले बताए । बिधेयक बिरुद्ध गुठीका अगुवाहरुले जनतालाई सडकमा ल्याएको उनको टिप्पणी थियो ।
उनले भ्रष्ट्राचार नियन्त्रणका लागि सार्वजनिक खरिद ऐनमा पनि परिमार्जन गर्नुपर्ने धारणा राखे । अघिल्लो बर्ष बिनियोजन भएको बजेटबाट असार मसान्तमा मात्र काम गर्ने पद्दती हटाउन ऐन परिमार्जन गर्नै पर्ने भएको उनले बताए । अघिल्लो बर्ष बजेटमा असहमति राखेका पौडेल सहित पूर्व माओवादीले यो बर्ष भने सकारात्मक रुपमा लिएको पनि बताए । ‘बजेट मार्फत पहिलो बर्ष ७ प्रतिशत, ३ बर्षमा साँढे ८ प्रतिशत र पाँच बर्षमा दुइ अंकको आर्थिक वृद्धि ल्याउन सकिन्छ’ पौडेलले भने, ‘सरकारले ल्याएको बजेट त्यस तर्फ लक्षित छ ।’ केही ऐन र प्रकृयामा संशोधन गरेर गएमा देश समृद्धिको दिशामा जाने उनले बताए ।
पुरस्कार बितरण कार्यक्रममा बोल्दै पौडेलले वर्तमान सरकार लोकतान्त्रिक सरकार भएकोले प्रेस स्वतन्त्रता बिरुद्ध जानै नसक्ने दावी गरे । उनले जनतालाई जागरुक गराउने र सरकारलाई सर्तक बनाउने प्रेसलाई कुष्ठीत हुने गरी बिधेयक पास गर्न नसक्ने समेत बताए । पौडेलले हाल आएको मिडिया काउन्सिल बिधेयकमा भुलबस केही बुँधा प्रेस बिरोधी भएको बताए । उनले ती प्रावधान संशोधन हुने विश्वास पनि व्यक्त गरे । लोकतन्त्रको संस्थागत बिकासमा पत्रकारले खेलेको भूमिका जनप्रतिनिधिहरुले बिर्सन नसक्ने उनको धारणा थियो । उनले लोकतन्त्र र गणतन्त्र प्राप्तीका लागि पत्रकारले राजनीतिक दलको जस्तै जोखिम मोलेर निरंकुशता बिरुद्ध लडेको पनि बताए । जनताको सूचना पाउने अधिकारलाई कुन्ठित गर्ने गरी बिधेयक आउने कुरै नभएको उनको भनाई छ । केही प्रावधानमा आएको समस्यालाई पार्टी तहमा पनि छलफल गरेर सुझाव दिइसकेको उनले दावी गरे । अनलाईनमा बिना पुष्टी आउने समाचार र सम्मानित व्यक्ति बिरुद्धका कार्टुनमा भने प्रतिवन्ध लगाउनु पर्ने उनले बताए । सम्मानित व्यक्तिहरुलाई पशुको शरिरमा टाउको जोड्ने खालका कार्टुन आउनु ठीक नभएको भन्दै त्यस्तालाई नियमन गर्न आवस्यक भएको उनको टिप्पणी थियो ।





