शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ताराखोलामा काम नगर्ने उपभोक्ता समितिलाई जिम्मेबारी मुक्त गरिने

ताराखोलामा काम नगर्ने उपभोक्ता समितिलाई जिम्मेबारी मुक्त गरिने


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७६, सोमबार

बागलुङ, ३० असार – बागलुङको ताराखोला गाउँपालिकाले सम्झौता अनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने उपभोक्ता समितिलाई जिम्मेबारीबाट हटाउने भएको छ । गाउँपालिकाद्वारा सञ्चालनमा रहेका बिकास निर्माणका काममा उपभोक्ता समितिको हेलचक्राईंका कारण ढिलासुस्ती हुने गरेको भन्दै गाउँपालिकाले उपभोक्ता समितिको काम कर्तव्य र अधिकारमा कडाई गरेको हो ।
उपभोक्ता समितिलाई सम्झौता भएको मितिमा अनिवार्य काम सम्पन्न गर्न आग्रह गरिने छ । तोकिएको समयमा काम सम्पन्न नभएमा अध्यक्षको स्विकृतिमा ५ लाखभन्दा साना आयोजनाहरु १० देखि २० दिनसम्म म्याद थप गर्न सक्ने नीतिमा उल्लेख छ । ५ लाखभन्दा ठूला आयोजनामा अवस्था हेरी एक महिनासम्म म्याद थप गर्न सकिने र यदि उक्त अवधीमा पनि काम सम्पन्न गर्न नसक्ने समितिलाई जिम्मेवारीबाट हटाई नयाँ उपभेक्ता समिति गठन प्रक्रियालाई अगाडी बढाउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।
गाउँपालिकाले आर्थिक वर्ष २०७६÷२०७७ को विनियोजन विधेयक र आर्थिक विधेयक पारित गर्दै बिकास निर्माणका कामलाई तिब्रता दिन कडाई गर्ने नीति लिएको हो । पाँचौ गाउँसाभाले पालिकाकोे सार्वजनिक खरिद नियमावली पारित गरेको छ । आर्थिक वर्ष २०७६÷२०७७ का लागि कार्यपालिकाद्वारा भएका निर्णयहरु गाउँसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा ल्याईएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए ।
योजना कार्यान्वयनको क्रममा हुने प्रशासनिक एवं अन्य खर्चको कन्टिजेन्सी कट्टा गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष घर्तीले बताए । पालिका भित्रका योजनहरुको प्रभावकारी कार्यान्वयनको लागि उपभोक्ता समिति गठन गर्ने म्याद, त्यसको कार्यान्वयन, अनुगमनको ३ चरणमा समय तालिकाका समेत गाउँपालिकाले बनाएको छ । गाउँपालिकाले बनाएको नीतिलाई जिम्मेबारीपूर्वक कार्यान्वयन गर्न अध्यक्ष घर्तीले निर्देशन दिएका छन् । ‘बिकासका लागि बिनियोजन भएका बजेट फिर्ता गर्न नपरोस् भनेर कडाई गरेका हौं’ अध्यक्ष घर्तीले भने ‘सबैको साझा सहभागिताका लागि हामीले बनाएको नीतिले सहयोग गर्ने छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->