बागलुङ,३१ असार – बागलुङको तेस्रो जिल्ला परिषद बिबिध बिषयमा छलफल गर्दै सोमबार सम्पन्न भएको छ । तेस्रो जिल्ला परिषदले जिल्ला स्तरीय अनुगमन तथा समन्वय सञ्चालन सम्बन्धि कार्यविधि २०७६ स्वीकृत गरेको छ ।कार्यबिधि स्वीकृत भएपछि जिल्ला समन्वय समितिले अनुगमन र प्रतिवेदन तयारीका लागि सहज हुने छ । त्यस्तै जिल्ला परिषदमा जिल्ला समन्वय समितिका काम कारवाही, अनुगमन, पालिकाहरुमा देखिएका समस्या , समन्वय समितिले दिएको सुझाव र जिल्लाको समग्र अवस्थाका बिषयमा छलफल भएको छ । परिषदले जिल्लाका सबै पालिकामा संघ, प्रदेश तथा स्थानिय तहबाट सञ्चालन भएका योजना तथा कार्यक्रममा देखिएका कमि कमजोरीको बिषयमा छलफल गर्दै सुझावहरु प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिए । परिषदमा जिल्लाका सबै नगर तथा गाउँपालिकाका प्रमुख, उप–प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, उप–प्रमुख बिष्णु भुषालको स्वागत र जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा बरेङ गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुन, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, लगायतले बोलेका थिए । गत आर्थि बर्षमा ४ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको जिल्ला परिषदले यो बर्ष भने बजेट बनाएको छैन् । जिल्ला समन्वय समितिका सबै गतिबिधिका लागि केन्द्र सरकारलेनै बजेटको व्यवस्थापन गर्ने भएकाले आन्तरीक बजेट नबनाएको जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले बताए ।





