
बागलुङ, ४ साउन – प्रतिनिधि सभाका सदस्य डा. सुर्य पाठकले केही दिन पहिला जिल्ला सदरमुकामा आयोजना गरीएको साक्षत्कार कार्यक्रममा कालिगण्डकी कोरिडोरको बिस्तार र बलेवा बिमानस्थल स्तरउन्नतीकोे बिषयमा उपलव्धी हाँसिल गरेको सुनाए । कालिगण्डकी कोरिडोर १० मिटर चौडा गर्ने काम र वलेवा बिमानस्थलमा पक्कि धावन मार्ग निर्माणगर्न नेपाल सरकारले बिनियोजन गरेको बजेटलाई आधार मान्दै पाठकले उपलव्धीको फेहरिस्त बताए । उनले भनेको जस्तै जिल्लाको दक्षिणलाई जोड्ने कोरिडोर बिस्तारको कामले सर्वसाधारणमा खुसी ल्याएको छ । असार मसान्त सम्म काम सक्नेगरी नेपाली सेनाले जिम्मा लिएको कोरिडोर स्तरउन्नतीको कामको प्रगतिको बारेमा सांसद पाठक सन्तुष्ट देखिन्थे ।
असारमै काम नसकिएको भएपनि आगामि असोज–कार्तिक सम्ममा भने यो खण्डको स्तरउन्नतीको काम सकिएर सञ्चालनमा आउने निर्माण कार्यदलको जिम्मेबारीमा रहेका नेपाली सेनाका प्रमुख सेनानी रेश्मीराज भट्टराई बताउँछन् । दक्षिण बागलुङ र सरोकारवालालाई खुसि तुल्याएको यहिसडकका कारण बलेवाकै चार परिवार भने बिस्थापित हुने अवस्थामा पुगेका छन् । कालिगण्डकी कोरिडोर बिस्तारका क्रममा बस्ति तलको जमिन कटान भएपछि बागलुङ नगरपालिका–१३ पैञ्युँपाटा, नयाँपुल नजिकैका चार घरपरिवार पहिरोको जोखिममा रहेको जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ ।
नेपाली सेनाले जिम्मा लिएर काम थालेको कालिगण्डकी कोरिडोर बिस्तारका क्रममा पहिरोका कारण जोखिममा परेका चार परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा बसोबास गर्न समितिले सिफारिष गरिसकेको छ । जिल्ला दैविक प्रकोप उद्धार समिति, नेपाली सेना, स्थानिय सरकारको रुपमा रहेको बागलुङ नगरपालिका, जिल्ला प्रसासन कार्यालय लगायतको टोलिले गरेको अनुगमनको क्रममा जोखिम युक्त देखिएका चार परिवारलाई सुरक्षित स्थानमा बासोबास गर्न आग्रह गरीएको प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री बताउँछन् । ट्रयाक खोल्ने क्रममा ७.६५ मिटरको बनाईएको बागलुङ नारायणस्थान खण्डको १० किलोमिटर खण्डलाई अहिले नेपाली सेनाले १० मिटर चौडा बनाउने काम गरिरहेको छ । सडक फराकीलो बनाउने क्रममा नयाँपुलका कुलराज लामिछाने, खगराज लामिछाने, महेश्वर लामिछाने र दयाराम लामिछानेका घर पहिरोको जोखिममा परेका हुन् । समितिले चार परिवार मात्रै जोखिममा रहेकोे भने पनी स्थानियका अनुसार उक्त स्थानमा पाँच परिवार पहिरोको जोखिममा छन् । करिडोर बिस्तारका लागि कटान गरीएको जमिन भत्कीएका कारण दयारम, कुलराज र कृष्ण प्रसादको घरमुनी पहिरो चलेको छभने सोही पहिरोका कारण सडक भन्दा तल्लो भु–भागमा रहेका खगराज र महेश्वरको घर पुरीने अवस्थामा रहेको बानपा–१३ पैञ्युपाटाका वडाअध्यक्ष नारायण पौडेलले बताए ।
कोरिडोर बिस्तारको काममा केही समय अवरोध भएकाले समयमा काम नसकिएको प्रमुख सेनानी भट्टराईले बताए । पहरामा बम बिस्पोट गर्दा पर्वतको जलजला गाउँपालिकाका केही स्थानियले मानव अधिकारको कुरा उठाउँदै अवरोध गरेका कारण काम समयमा नसकिएको र जोखिममा रहेका घरलाई सुरक्षित गर्ने उपाय अपनाउन नसकिएको उनको भनाई थियो । ‘घरमुनीको माटो खोलेर काम थाले सबै आउँछ’ भट्टराईले भने ‘बर्षा याम सुरुभएकाले तारजाली तथगा मेसिनरी वाल लगाउने काम गर्न सकिएन ।’ दशैं र तिहारको बिच सम्ममा काम सक्ने योजना बनाएका भट्टराईले तत्कालका लागि जोखिममा रहेका परिवारलाई सुरक्षित रहन आग्रह गर्नु बाहेक उपाय नरहेको बताए । बर्षा रोकिए पछि तत्कालै काम थाल्ने र पहिलो प्राथमीकतामा घर जोगाउने काम गरीने उनले बताए । अनुगमनमा रहेका सरोकारवालाले चार घरपरिवार जोखिममा रहेको भनेपछि स्थानिय सरकार बागलुङ नगरपालिकाले पिडित परिवारका लागि सुरक्षित स्थानमा बस्न खर्च उपलव्ध गराउने भएको छ । ‘हामिले उहाँहरुलाई निवेदन दिनु खर्चको व्यवस्था गछौं भनेका छौं, दुई परिवारले निवेदन दिईसक्नुभएको छ’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने ‘प्रति परिवार २५ हजारका दरले तत्कालका लागि व्यवस्थापन खर्च उपलव्ध गराउने भनेका छौं ।’ घर नजिकै पहिरो पुगेका कारण नयाँ पुलका स्थानिय नजिकै खाली रहेका गाउँले घर र मन्दिर छेउछाउका सत्तलहरुमा रात काट्ने गरेका छन् । स्थानियले बिकासको लागि बिरोध नगरेको भएपनि बर्षाको समयमा जमिन भत्काउँदा पिडित बन्नुपरेको गुनासो गरे । ‘प्रभावित क्षेत्रमा जाँदा सर्वसाधारणको कुनै गुनासो छैन’ सांसद पाठकले भने ‘हामिले जोखिम देखेर सुरक्षित हुनुस भनेका छौं, व्यवस्थापनको काम सके नगरपालिकाले गर्छ नसके केन्द्रमा माग गरि पठाउँछ ।’ पाठकले आईलाग्ने बिपत्तिको समाना गर्दै बिकासका गतिविधिमा अवरोध आउन नदिने बताए ।





