शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गैससको निम्तो मान्न नगरको खर्च, जापान जाँदै जैमिनीको जम्बो टोली

गैससको निम्तो मान्न नगरको खर्च, जापान जाँदै जैमिनीको जम्बो टोली


  • Dhorpatan News
  • साउन ८ २०७६, बुधबार

बागलुङ,८ साउन- बागलुङ÷बागलुङको जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलसहितको टोली एक गैह्र सरकारी संस्थाको आमन्त्रणमा जापान भ्रमणमा जाने भएको छ। नगरपालिकाको खर्चमा नगरप्रमुख इन्द्रराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मासहित ७ सदस्यीय टोली जापान भ्रमणमा जाने तय भएको हो। उनीहरुलाई ‘द वल्र्ड भिजन’ नामक गैह्र सरकारी संस्थाले जापान भ्रमणको निम्तो दिएको थियोे।
जापानको ग्रामिण इलाकाको शिक्षा, स्वास्थ्य र पर्यटनको अवलोकनका लागि जाने भनिएको भ्रमणका लागि नगर कार्यपालिकाले खर्च उपलव्ध गराउने निर्णय गरेको छ। जापान जाने हवाई टिकटसहित प्रतिव्यक्ति दैनिक ७ हजार रुपैयाँ खर्च गर्न पाउने गरी कार्यपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताए।
जैमिनी नगरले चालु आर्थिक बर्षको लागि भ्रमण शिर्षकमा बिनियोजन गरेको १० लाख रुपैयाँ बजेट उनीहरुको भ्रमणमा खर्च हुने छ। ७ जनाको हवाई टिकटको मात्रै झण्डै ६ लाख ५० हजार रुपैयाँभन्दा धेरै खर्च हुन्छ । नेपालदेखि जापान आतेजाते हवाई कम्पनी अनुसार ७५ हजारदेखि एक लाख रुपैयाँसम्म प्रतिव्यक्ति टिकट खर्च लाग्ने छ।
आगामी साउन १३ गतेदेखि २४ गतेसम्म सो समुहले जापानको भ्रमण गर्ने समुहका सदस्य एवं वडा नं ६ का वडा सदस्य केशव चालिसेले जानकारी दिए। ‘भ्रमणका लागि छुट्टाईएको रकम अपुग भएमा अनुगमन र भैपरी आउने शिर्षकको रकम खर्च गर्न मिल्छ’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भने ‘भ्रमणलाई जतिसक्दो छोटो बनाउने प्रयास गर्नेछौं।’ ७ जनाले दैनिक ७ हजारका दरले भ्रमण भत्ता लिँदा ४९ हजार रुपैयाँ खर्च हुन्छ। ११ दिन सम्मको सातै जनाले लिने भ्रमणभत्ता ५ लाख ३९ हजार रुपैयाँ खर्च हुने छ।
भ्रमणमा नगरप्रमुख इन्द्रराज पौडेल, प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, वडा नं २ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा नं ५ का अध्यक्ष गोपाल पौडेल, वडा नं. २ का सदस्य प्रेम प्रसाद सापकोटा, वडा नं ६ का सदस्य केशव चालिसे र नगर कार्यपालिका सदस्य लालबहादुर परियार सहभागी हुने छन्। १० सदस्यीय भ्रमण टोलीमा पूर्व संबिधानसभा सदस्य प्रकाश शर्मा पौडेल र सुन्तलाचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक नन्दलाल सपकोटा र उनका एक जना अफन्त रहने बताईएको छ। पौडेल र सापकोटाको खर्च भने नगरपालिकाले उपलव्ध गराउने छैन।
जापानमा रहँदा नगरप्रमुख सहितको टोलीले त्यहाँको ओसाका नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको छ। त्यो बाहेका जापानको ग्रामिण क्षेत्रमा पर्यटनको विकास र त्यसका आधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका सकरात्मक परिवर्तनका बिषयमा अध्ययन गरिने शर्माले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->