पर्वत,९ साउन – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डको काम सन्तोषजनक नभएपछि यात्रुहरुले सास्ती भोग्न बाध्य बनेका छन् । सोचे अनुसारको कार्य प्रगति हुन नसकेपछि सडक निर्माण अलपत्र परेको छ ।
सडकको यस आर्थिक वर्षसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको भएपनि सोचे अनुसारको प्रगति हुन नसकेपनि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिस थापा मगरले भने सन्तोषजनक कार्य प्रगति भएको बताउनुहुन्छ । ‘प्रतिवद्धता अनुसार काम नभएपनि हाम्रो ‘सेड्युल’ अनुसार भएको छ’ उहाँले भन्नुभयो –‘भदौदेखि कामले गति लिन्छ ।’
आयोजनाका प्रमुख थापा मगरले ७० प्रतिशत बढि काम सम्पन्न गर्ने लक्ष्य भएपनि मौषमका कारण सोचे अनुसारको काम हुन नसकेको र काम समयमा नसकिए पनि आँफूलाई कुनै समस्या नहुने बताउनुभयो । २०७४ चैत महिनादेखि स्तरोन्नतिको काम शुरू भएको पर्वत खण्डमा हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको हो । आयोजनाले भने गत असार मसान्तसम्ममा ७० प्रतिशत काम सक्ने लक्ष्य लिएको भएपनि ४५ प्रतिशत मात्र पुरा हुने देखिएको हो । सडक निर्माणको काम सुस्त हुँदा यात्रुहरुलाई समस्या भएको छ ।
प्रतिकुल मौषम, निर्माण सामाग्रीको अभाव आदि कारण सोचे अनुरुपका प्रगति हुन नसकेको भन्दै मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख थापा मगर उम्किँदै आउनुभएको छ । लोकमार्ग अन्तर्गत पर्वतको अँधेरीखोलादेखि मालढुंगासम्मको २४ किलोमिटरको भौतिक प्रगति सोचे अनुरुप हुन नसकोको र निर्माण कम्पनी लामा कन्ट्रक्सनले कार्यालयले समयमा भुक्तानी नदिँदा समस्या भएको बताउँदै आएको छ ।
१० किलोमिटर कालोपत्रेको काम यस आर्थिक वर्षमा सक्ने लक्ष्य रहेको र गत असारसम्ममा सो काम सकेर ६० प्रतिशत प्रगति हाँसिल हुने गर्ने बताएपनि थप प्रगति हुन सकेको छैन । सडकको अधिकांस ठाउँमा नाली निर्माण, पहिरो रोकथामका लागि पर्खाल निर्माण, साँघुरो घुम्ती काट्ने लगायतका संरचनाको काम भएको भएपनि मुख्य समस्या रहेका ठाउँमा काम शुरु नै नहुँदा वर्षातको समय यात्रुहरुलाई समस्या हुने भएको हो । काम नसक्दा ठाउँ ठाउँमा पहिरो खस्ने तथा जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता भएको यात्रुहरुको भनाई छ ।
आयोजनाको पर्वतको अँधेरी खोलादेखि मालढुंगासम्मको २४ किलोमिटर स्तरोन्नतिको काम लामा कन्स्ट्रक्शन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको हो । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको थियो ।
लोकमार्ग पूरै नयाँ स्वरूपमा विस्तार र स्तरोन्नति गर्न चारओटा प्याकेज बनाएर काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार २०७७ भदौसम्ममा पोखरा–बागलुङ सडक खण्डको सबै काम सकिने बताईएको छ । आयोजनाको कास्की खण्डमा हालसम्म ६० प्रतिशत र बाग्लुङमा ५५ प्रतिशत काम सम्पन्न भएको छ तर पर्वत खण्डमा काम नहुनुमा कार्यालय र निर्माण कम्पनीले जिम्मेवारी पुरा गर्न सकेको देखिन्छ ।
यता जिल्ला प्रशासन कार्यालयले पनि समयमा काम सक्न ताकेता गरेको र जोखिम युक्त ठाउँको कामलाई तिब्रता दिन अनुरोध गर्दा समेत दुबै पक्षले चासो नदिएको बताईएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले कार्यालयलाई यथासक्य काम शुरु गर्न निर्देशन दिएको तर वेवास्ता गर्दा समस्या थपिएको बताउनुभयो । कास्की खण्डको नयाँपुलदेखि लुम्ले खण्डको ७ किलोमिटर सडक कालोपत्रेको काम सकिँदा पर्वत खण्डमा भने प्रगति नहुनु कार्यालय नै जिम्मेवार नभएको देखिन्छ । धौलागिरीको मुख्य मार्गको रुपमा रहेको पोखरा बाग्लुङ खण्डमा काम नहुँदा ४ जिल्लाका यात्रुहरुलाई प्रत्यक्ष मार परिरहेको छ । वर्षातको समयमा जोखिमपूर्ण ठाउँमा यात्रा गर्दा यात्रुहरुलाई समेत सास्ती भएको तर सम्बन्धित निकाय जिम्मेवार नभएको स्थानीयवासीहरुको आरोप छ ।





