बागलुङ, १० साउन- धौलागिरी अञ्चल अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने अध्यक्ष केवी रानाले दावी गरेका छन् । सरकारी संस्थाहरुमा रहेको बेथीती अन्त्य गरेर सुधार गर्न आँफू अध्यक्ष भएर आएको भन्दै उनले काम गरेर देखाउने बताए । धौलागिरी संचार क्लबले बिहिवार आयोजना गरेको एक अन्तरक्रियामा उनले अस्पतालको व्यवस्थापनलाई चुस्त बनाइसकेको समेत दावी गरे ।‘झाडीको रुपमा रहेको अस्पताललाई सफाइ गरेर अस्पताल जस्तो बनाएका छौं’ उनले भने, ‘बी ब्लकलाई संचालनमा ल्याएर काम गर्न पनि सहज भएको छ ।’ बी ब्लकमा ओपिडी, बिशेषज्ञ सेवा, निशुल्क औषधि वितरण कक्ष र फार्मेसीको व्यवस्थापन समेत गरिएको उनले बताए ।अस्पतालमा शव राख्ने, मृगौला रोगीलाई डायलाएसिस, थाइराईट लगायतको समस्याका बिरामीलाई उपचार गर्न मेसिन भित्राएको उनले बताए । त्यस्तै अस्पतालमै स्तनपान कक्ष समेत बनाइएको उनको भनाई छ । उनले काम नगर्ने कर्मचारीलाई उचित व्यवस्थापन गरिने समेत उनले बताए । बिकल्प बिना सरुवा भएर गएका कर्मचारीलाई अझै रमाना नदिएको पनि उनले दावी गरेका छन् । अस्पतालको बी ब्लक ठेकेदारले हस्तान्तरण नगरेपनि समितिले सरसफाई गरेर बिभिन्न कक्षहरु सारिएको समेत उनले बताए । अस्पतालमा ९ जना कर्मचारी नियुक्ती गरेको भन्ने पत्रकारको जिज्ञाशामा रानाले ‘पेइट भोलेन्टीयर’ ६ जना राखेको बताए । पहिला देखि निशुल्क काम गरेकालाई पनि पारिश्रमिक पाउने व्यवस्था गरेको भन्दै उनले राजनीतिक दवावमा नभई आवस्यकताको आधारमा नियुक्ती गरिएको बताए । अझै अस्पतालमा १५ जना स्टाफ नर्स पदपूर्ति गर्नुपर्ने उनले बताए । अस्पताल बिरुद्ध आएका केही खवरमा चिकित्सकहरुले दुव्र्यवहार नगरेको भन्दै उनले अस्पतालको बचाउ समेत गरेका थिए ।





