बागलुङ,१० साउन – केही दिन देखि परिरहेको निरन्तर बर्षा सँगै गएका पहिरोले बागलुङका ग्रामिण सडकहरु ठाउँ ठाउँमा अबरुद्ध भएका छन् ।
मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाँउपालिमा सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकाम र छिमेकी गाउँपालिका तथा नगरपालिका जोड्ने सडक पहिरोले अबरुद्ध भएपछि बरेङमा सडक सम्पर्क टुटेको हो । बरेङदेखि धुल्लुबाँस्कोट छाप उर्लेनी सडक तीन दिन देखि अवरुद्ध भएको हो ।
बरेङ गाँउपालिकाको कार्यालयदेखि गुल्मीको शान्तिपुर सडक खण्डको दाउन्ने, काल्चे र घट्टेमा पहिरो जाँदा बाटो अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । ‘पालिका भित्रको भन्दा छिमेकी पालिकाको सडक खण्डमा रहेको अबरोधका कारण हाम्रो सडक सम्पर्क टुटेको हो’ पुनले भनिन् ‘निरन्तर बर्षा भैरहेकाले तत्कालैै सडक खुलाउन सम्भव छैन् ।’ गुल्मीको सिमानामा पर्ने बरेङ गाउँपालिकाले सदरमुकाममा हुने काम बाहेक पालिका बाहिर आवत जावतका लागि बरेङ–शान्तिपुर सडक प्रयोग गर्दै आएका थिए । सो सडक एक साता पहिले देखिनै अबरुद्ध छ । सडक बन्द हुँदा बरेङ देखि बुटवलका लागि छुटेका सवारी साधन बरेङमै रोकिएका छन् भने बुटवलदेखि बरेङका लागि आएका सवारी तथा मालबहाक गाडि शान्तिपुरमै रोकिएको पुनले जानकारी दिए ।
सडक अवरुद्ध भएका कारण बिरामीलाई अस्पताल पु¥याउन सबैभन्दा ठुलो समस्या परेको छ । ‘पालिका भित्रका भित्री सडक त अवरुद्ध थिएनै, सिंगो गाउँपालिका सडक सञ्जाल भन्दा बाहिर भयो’ पुनले भनिन् ‘हाम्रो अधिकार क्षेत्रभित्रको त पन्छाएर चलाउँथ्यौं, अरुको पालिकामा अबरोध रहेकाले समस्यामा परियो ।’ बरेङमा सबै कच्ची सडक मात्रै छन् । पक्की सडक नभएका कारण हिलाम्मे सडकमा सवारी चलाउँदा जोखिम हुने गरेको स्थानीय राजन चालिसे बताउँछन् ।
बरेङ सँगै जिल्लाको ताराखोला, निसीखोला र तमानखोला गाउँपालिकाका स्थानीय सडकहरु पनि पहिरोका कारण अबरुद्ध छन् । ‘पालिकाको केन्द्रमा आउने सडकमा समस्या छैन रोकींदा बनाइहाल्छौं’ ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भने ‘स्थानीय सडक त अव दशैंका बेला मात्रै खुलाउने हो ।’ स्थानीय सडक बिस्तारका क्रममा बनेका नयाँ संरचनाले गोरेटो बाटो समेत मासिएका छन् । गोरेटो समेत नहुँदा पैदल यात्रीहरुलाई सास्ती परेको छ । हिलाम्मे सडक र माासिएका गोरेटोका कारण पैदलै हिँड्न समेत कठिन भैरहेको स्थानीय चालिसे बताउँछन् ।





