बागलुङ,११ साउन- जैमिनी नगरपालिकाको सबै वडामा बाह्रै महिना सवारी साधन चल्ने गरी सडक मर्मत कोष स्थापना गरिएको छ ।
अघिल्ला बर्ष बिनियोजन भएको बजेट सडक मर्मत नगरी दुरुपयोग भएपछि नगरपालिकाले सदुपयोगका लागि कोष बनाएको नगर प्रमुख ईन्द्रराज पौडेलले बताए । उनले अघिल्ला दुइ बर्ष वडामा गएको बजेट र नगरको बिकास बजेटको ३० प्रतिशत दुरुपयोग भएको समेत टिप्पणी गरे । ‘जनप्रतिनिधि आउनु अघि ४० प्रतिशत मिलाएर खाने चलनबाट घटेर ३० प्रतिशतमा झ¥यो, तर यो सन्तोष मान्ने कुरा होइन’ पौडेलले भने, ‘कम्तिमा ९० प्रतिशत बजेट सदुपयोग गर्न कोष बनाउनु परेको हो ।’ चालु बर्षदेखि हरेक वडामा कम्तिमा ५ लाख रुपैयाँको दरले रकम बिनियोजन गरेर नियमित मर्मत कोष बनाइएको उनले प्रष्ट्याए ।
शुक्रवार पत्रकार सम्मेलन गरेर जैमिनी नगरपालिकाले आफ्नो दुइबर्षे कार्यकालमा गरेका कामको सार्वजनिकीकरण समेत गरेको छ । शुन्यबाट थालेर अधिकतम सफलता पाउने प्रयास भैरहेपनि सोचेको प्रगती हुन नसकेको उनले स्विकारे । उनले दिर्घकालिन र तत्कालिक योजना बनाएर काम गर्ने तथा दोहोरो पारदर्शीताको नीति अंगालेको पनि बताए ।
नगरपालिकाले घर नभएका र सुकुम्बासीलाई घरमा बसाल्ने योजना पनि बनाएको उनले जानकारी दिए । ‘सुकुम्बासीमा सूचिकृत १७ परिवारलाई चालु बर्ष आफ्नै घरमा बसाल्ने योजना छ’ उनले भने, ‘घरै नभएका पनि ७९ घरको पहिचान गरिसकिएको छ, उनीहरुलाई तीन बर्षभित्र घरमा राख्ने योजना छ ।’ पौडेलले आफ्नो कार्यकालमा आफ्नै घर बनाउने लक्ष समेत सुनाए । त्यसका लागि घडेरीको जोहो भैसकेकोले आगामी दिनमा घर बनाउने योजना थाल्ने बताए ।
नगरपालिकाले गौरवको योजना मार्फत चक्रपथ निर्माणको काम पनि थालिएको उनको भनाई छ । हाल वडा तहमा पुगेका कम्तिमा एकएक वटा सडम स्तरीय बनाउने र चक्रपथ नियमित चल्ने बनाउन सक्दा नगरको गौरव बढ्ने उनको भनाई छ । हाल जैमिनीको केन्द्र कुश्मीसेरा पुग्ने बाटो सडक बिभागको जिम्मामा गएको छ । त्यस्तै जैमिनीकै जैमिनीघाट देखि छिस्ती सम्म कालीगण्डकी कोरिडोरले राष्ट्रिय योजनामा समेटिएको छ । ती सडक बाहेक चक्रपथ र १० वटा वडा जोड्ने १३ वटा सडकलाई स्तरउन्नतीको योजनामा राखेको उनको भनाई छ ।
नगरपालिकाले कृषि क्षेत्रको बिकासमा ५ थरी बालीलाई किसानबाट नगरपालिकाले खरिद गरेर बजारीकरण गरिदिने योजना पनि राखेको छ । त्यसका लागि कार्यविधि पनि बनाएर लागू गर्ने पौडेलले बताए । अलैची, सुन्तला, कागती, मह र कफीका लागि नगरपालिकाले बजारीकरण गरिदिने योजना बनाएको हो ।
नगरपालिकाको जम्बोटिम जापान भ्रमणमा जाने गरी गरेको निर्णयको बचाउ गर्दै पौडेलले सिक्ने र अनुभव आदानप्रदानका लागि जान लागेको बताए । गैरसरकारी संस्थाको निमन्त्रणा भएपनि नगरपालिकाको बजेट केही बजेट खर्च गर्नेगरी उनीहरु जान लागेका थिए । राजनीतिक भागबण्डाको आधारमा जान लागेको टीमबाट कम खर्च गरेर उपलब्धी खोज्ने पनि उनले दावी गरे । ‘नगरपालिकाको खर्च कटौतीका लागि म बाहिर निस्केर भएपनि कम खर्च गर्छौ’ उनले भने, ‘निर्णय भैसकेकोले देशकै टिकाटिप्पणी हुने गरी रद्द भने गर्दैनौं ।’ जापानका लागि टिकट समेत काटिएको र जापानमा व्यवस्थापन पनि भैसकेकोले भ्रमण रद्द गर्दा देशकै बारेमा नकारात्मक टिप्पणी हुने उनले बताए । कार्यक्रम नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।





