पोखरा, १२ साउन – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम जोडतोडले भइरहँदा यहाँबाट चीनका केही शहरमा उडान हुने पक्का भएको छ । नेपाल र चीनबीच ८ वटा हवाई रुट प्रयोग गर्ने र हप्तामा ९८ वटासम्म उडान एक अर्को देशमा गर्न पाउने सहमतिका साथै पोखरा र गौतमबुद्ध विमानस्थलमा मात्रै हप्तामा २१ वटासम्म उडानको सम्झौतापछि पोखराबाट चीन उडानको बाटो खुलेको हो ।
सम्झौतामा नेपाल र चीनबीच हप्तामा ९८ वटासम्म एक अर्को देशमा हवाई उडान गर्न पाउने र ८ वटा हवाई रुट प्रयोग गर्न सकिने उल्लेख छ । पर्यटन मन्त्रालयअन्तर्गतको हवाइ उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यले नेतृत्व गरेको नेपाली टोली र चीनको तर्फबाट सिभिल एभिएसन अथोरिटी अफ चाइनाको डेपुटी डाइरेक्टर जनरल बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा दुई दिन वार्ता भएपछि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
आफ्ना मुख्य १५ विमानस्थलमा नेपाललाई उडान अनुमति दिन तयार भएको चीनले भने नेपालका पर्यटकीय केन्द्र पोखरा र गौतमबुद्धमा उडान बढाउन रुची देखाएको छ । यसले पोखराको पर्यटनमा ठूलो योगदान गर्ने यहाँका पर्यटन व्यवसायीले बताएका छन् । ‘पोखरा र नेपालकै पर्यटन उद्योगको लागि यो खुसीको कुरा हो, अब चीनका शहरुसँग सीधा उडान हुँदा यहाँ चिनिया पर्यटकको आवागमन बढ्ने आशा पलाएको छ’, पर्यटन व्यवसायी सोम थापाले भने,‘चीनसँगै अन्य छिमेकी देशमा पनि यहाँबाट उडान भर्ने व्यवस्था गरिनुपर्छ । चीनसँग भएको वार्तामा नेपालको तर्फबाट बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सहसचिव सुशील लम्साल, मन्त्रालयका अधिकारी र नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सका प्रतिनिधि सहभागी भएका थिए ।
‘पोखरा र गौतमबुद्ध विमानस्थलमा अब चीनबाट हप्तामै २१ वटासम्म उडान हुन सक्नेछ’, लम्साल भन्छन्, ‘चीनमा नेपालतिर उडान वृद्धि गर्ने रुची ठूलो छ, अहिलेसम्म ५ वटा एयरलाइन्सले नेपाल उडान गर्दै आएका थिए भने अब थप ८ वटाले रुची देखाएका छन् ।’ लम्सालका अनुसार पर्यटकहरूका लागि नेपालबाट हिमालय क्षेत्र हुँदै तिब्बतको कैलाश मानसरोवर ‘लेक फ्लाइट’ को अनुमति दिन पनि चीन सकारात्मक देखिएको छ ।
‘बेइजिङ, सांघाई, सियान, ग्वान्झाओ, ल्हासा, चेङ्दु, छोङछिङ, कुन्मिङ लगायत विभिन्न १५ गन्तव्यमा नेपाललाई उडान अनुमति दिन चीन सहमत भएको छ’, वार्तामा सहभागी नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले भनेका छन् , ‘७ वटा गन्तव्यबाट बढाएर १५ पु¥याइएको हो । ’लम्सालका अनुसार यसअघि दुई देशबीच हप्तामा ७० वटासम्म उडान गर्न पाउने व्यवस्था भएपनि पछिल्लो समय नेपालले चीनमा एउटै पनि उडान गरिरहेको थिएन ।बेइजिङमा भएको सम्झौता अनुसार नेपाल एयरलाइन्सको ग्वान्झाओ उडान चाँडै सुरु हुन सक्नेछ । त्यसपछि नेपाल एयरलाइन्सले आफ्नो क्षमताअनुसार चीनका १५ गन्तव्यमध्ये अन्य विमानस्थलमा उडान गर्न सक्नेछ । ‘
राष्ट्रिय गौरवको आयोजना हो, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । गण्डकी प्रदेशलाई बाहिरी विश्वसँग जोड्ने र यो क्षेत्रको पर्यटन प्रवद्र्धनको आधार मानिएको विमानस्थल निर्माण जोडतोडले भइरहेको कछ । निर्माण सुरु भएको १९ महिनामै यसको धावनमार्ग बनिसकेको छ । विमानस्थल सन् २०११ को जुलाई १० मा सक्ने लक्ष्य राखिएको छ । अहिले विमानस्थलको रन वे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान),ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भइरहेको छ । आयोजना प्रमु्ख विनेश मुनकर्मीले तोकिएको समयभन्दा करिब ६ महिनाअघि नै यसको निर्माण सकिने अनुमान लगाएका छन् । सन् २०१७ को नोभेम्वर महिनादेखि विमानस्थलको निर्माण सुरु भएको हो । चिनिया कम्पनी सीएएमर्सीले विमानस्थल निर्माणको जिम्मा पाएको छ । चीनको एक्जिम बैंकको २२ अर्ब ऋण सहयोगमा विमानस्थल बन्दै गरेको हो । बोइङ ७५७ र एयरबस ३२० विमान आउजाउ गर्ने यो विमानस्थलबाट यी विमानले करिब १ सय ९२ जना मान्छे उडाउँछन् ।





