बागलुङ,१२ साउन – गैरसकारी संस्थाको निम्तो मान्न नगरको खर्च लिएर जापान भ्रमणमा जान लागेको जैमिनी नगरपालिकाको टोलीका एक सदस्यले जापान भ्रमण स्थगित गरेका छन् । नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लागेका जैमिनी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वा्चित वडाध्यक्ष हुन् । नगरको खर्चमा जापान जान लागेको समाचार ढोरपाटन दैनिकले प्रकाशन गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो । नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष अमर थापाले बताए ।
’नगरपालिकाको खर्चमा विदेश घुम्न जानु उपयुक्त होइन भन्ने हाम्रो धारणा हो’, उनले भने, ’पार्टीले रोकेपछि उहाँ जापान नजाने हुनुभएको छ ।’ नगरपालिकाको खर्चमा नगरप्रमुख ईन्द्रराज पौडेलसहितको टोली जापान भ्रमणमा जाने भएपछि त्यसको आलोचना भइरहेको छ’ पार्टीले जापान भ्रमण नजानु भन्यो, मैले त्यसलाई सहर्ष स्वीकार गरेँ’, वडाध्यक्ष शर्माले भने ।
‘द वल्र्ड भिजन’ नामक गैरसरकारी संस्थाको निमन्त्रणामा नगरप्रमुख पौडेलको नेतृत्वमा ६ सदस्यीय टोली सोमबार जापान प्रस्थान गर्दैछ ।’ सात सदस्यीय टोली भ्रमणमा जाने निश्चित भएको थियो’, नगरप्रमुख ईन्द्रराज पौडेलले भने, ’एकजना वडाध्यक्षले पार्टीले अनुमति नदिएका कारण जान नसक्ने जानकारी गराउनुभएको छ ।’
भ्रमणमा प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वडा नम्बर २ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा नम्बर २ का सदस्य प्रेमप्रसाद सापकोटा, वडा नम्बर ६ का सदस्य केशव चालिसे र नगर कार्यपालिका सदस्य लालबहादुर परियार पनि जाँदै छन् । तीन पार्टीको सहभागिता रहेको जैमिनी कार्यपालिकामा सहभागि दलहरु सबैको प्रतिनिधित्व हुने गरी भ्रमण दल बनाईएको थियो ।
औपचारिक रुपमा घोषणा नगरिए पनि नेपाली कांग्रेस, नेकपा र राष्ट्रिय जनमोर्चाको सबैको प्रतिनिधित्व हुनेगरी भ्रमण टोली तयार भएको थियो । शर्माले जापान भ्रमण स्थगन गरेपछि अब भ्रमण दलमा नेपाली कांग्रेस र नेकपा सर्म्थित जनप्रतिनिधिको मात्रै सहभागिता रहने छ । भ्रमण टोलीमा पूर्व सासंद प्रकाश शर्मा पौडेल, सुन्तलाचौर माविका प्रअ नन्दलाल सापकोटा र अर्का एक स्थानीय पनि जाँदैछन् । उनीहरू भने व्यक्तिगत खर्चमा जान लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए । चालू आर्थिक वर्षका लागि भ्रमण शीर्षकमा छुट्ट्याइएको १० लाख बजेटमा नगरपालिकाको टोली जापान जान लागेको हो । ‘नगरसभा र कार्यपालिकामा व्यापक छलफल गरेर भ्रमणबारे निर्णय भएको हो’, नगरप्रमुख पौडेलले भने, ‘न्यून खर्चमा जाँदैछौँ, भ्रमण उपलब्धिमूलक बन्नेमा ढुक्क छौँ ।’ भ्रमणमा बोलाउने संस्थाले जैमिनी नगरपालिकामा विद्यालय भवन निर्माण, एम्बुलेन्स लगायतमा सहयोग गरेको जनाइएको छ ।
उक्त संस्थाबाट थप सहयोग लिन र जापानको विकासबाट केही सिक्न भ्रमण फलदायी हुने नगरपालिकाको दाबी छ । भ्रमणको कार्यसूचीमा जापानको ओसाका नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लाग प्रस्ताव गर्नेसमेत उल्लेख छ । भ्रमण दलमा रहेका ६ जनाको हवाई टिकट र प्रतिव्यक्ति प्रतिदिन ७ हजार रुपैयाँ भत्ता उपलव्ध गराउने गरी जैमिनी नगर कार्यपालिकाले गरेको निर्णय नगरसभाबाट पारित गराईएको छ । उनीहरुको भ्रमणमा झण्डै १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।





