पोखरा, १३ साउन – पोखरामा आइतबार आयोजित राष्ट्रिय खुल्ला एकल नृत्य प्रतियोगिताको उपाधी गण्डकीकी बन्दना घर्ती मगर र कर्णालीका शेखर घर्तीमगरले जितेका छन् । पुरुष र महिला विधामा भएको प्रतियोगतामा विजेता बनेका दुबैले १ लाख १ हजार १ सय ११ नगदसहित सांस्कतिक संस्थानमा एक वर्षको रोजगारी पनि प्राप्त गरे । उनीहरुल देशभरबाट छानिएका १६ जना प्रतिष्पर्धीलाई पछि पारेका हुन् ।
लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा कल्याण सेरचन स्मृति प्रतिष्ठान र सांस्कृतिक संस्थानले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको लागि सबै प्रदेशबाट २÷२ जना कलाकार छानिएको थियो भने गण्डकीबाट ४ जना सहभागि थिए । हरेक प्रदेशका मौलिक लोकभाकामा नाँच्न प्रतियोगीहरु स्वतन्त्र थिए । दोस्रो राउण्डमा भने उनीहरुलाई गोलाप्रथाद्धारा गीत छान्ने र त्यही गीतमा नाच्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको थियो । त्यो राउण्डमा देशका विभिन्न भागमा गाइने लोकगीतहरु समावेश गरिएको थियो । मात्र ५ सेकेण्ड गीतको धुन सुनेपछि त्यही गीतमा नाच्नुपथ्र्यो । पहाडियालाई मैथिली गीत तथा मैथिलीभाषीलाई पहाडको झर्रा गीतमा नाच्नुपर्ने अवस्था पनि त्यो राउण्डमा देखा परेको थियो ।
सोह्र वर्षे उमेरमै मै पनि भिलके हुँदो हुँ जस्ता कालजयी गीतका सर्जक कल्याण सेरचनको जन्मजयन्तीमा आयोजित प्रतियोगितामा महिलातर्फ प्रदेश नं.५ की अंशु कुँवर र पुरुषतर्फ प्रदेश नं.१ का प्रितम सम्बाहाम्फे दोश्रोहुँदै ५० हजार, ५ सय १५ रुपैयाँ, ट्रफी, महिलातर्फ प्रदेश नं. ३ की रबिता मगर र पुरुषतर्फ प्रदेश नं.५का दिलबहादुर सुनार तेश्रो घोषितहँुदै २५ हजार, ५ सय १५ रुपैयाँ र ट्रफी, प्रतियोगितामा महिलातर्फ कर्णाली प्रदेशकी विपना मन्दिर मगर र पुरुषतर्फ गण्डकीका हीराबहादुर गुरुङले सान्त्वना स्थान हासिल गर्दै १५ हजार, ५ सय १५ रुपैया, ट्रफीसहित पुरस्कृत भए । यस्तैगरी प्रतियोगितामा पहिलो भएकी बन्दना घर्ती मगरका नृत्य निर्देशक सनबहादुर गुरुङ र शेखर घर्ती मगरका निर्देशक अनन्तराज तिमिल्सेनाले उत्कृष्ठ नृत्य निर्देशक घोषित हुँदै जनही २५ हजार, ५१५ रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा मुख्य निर्णायकहरुमा बरिष्ठ नृत्य निर्देशकद्वय मेनकाजी गुरुङ र रोचक थापा, निर्णायकहरुमा मनकुमार श्रेष्ठ(गण्डकी प्रदेश), नगेन्द्र राई (प्रदेश नं.१), सन्दीप मण्डल(प्रदेश नं.२), शारदा सिलवाल(प्रदेशनं.३),अनु रजक(प्रदेश नं.५),कुलमान नेपाली(कर्णाली प्रदेश) र सुनिल सुवेदी (सुदुर पश्चिम प्रदेश) रहेका थिए । कार्यक्रममा लोकनृत्यमा विशेष योगदान पु¥याएका बिराटनगर कटारी २ का वरिष्ठ लोक नृत्यकार प्रेमलाल परियार(सुनाम)लाई सम्मान गरिएको थियो । ५ दशकदेखि लोकनृत्यमा विशेष योगदान पु¥याएका सुनामलाई २५ हजार १ रुपैयासहित सहित, ताम्रपत्र, दोसल्लासहित सम्मान गरिएको हो । यसअघि कार्यक्रमको गण्डकी प्रदेशका आर्थिक मामला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए । झण्डै ५ घण्टा लामो कार्यक्रम अवधीभर दर्शकदीर्घामा बसेर उनले नृत्यको आनन्द उठाए ।





