शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गण्डकीका ८२ प्रतिशत हिन्दुले जनैपूर्णिमाको छुट्टी पाएनन

गण्डकीका ८२ प्रतिशत हिन्दुले जनैपूर्णिमाको छुट्टी पाएनन

स्थानीय तहको बिदा प्रदेश र संघले नमान्ने


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७६, बिहिबार

पोखरा,३० साउन- धर्मको आधारमा हेर्दा गण्डकीमा ८२ प्रतिशत जनसंख्या हिन्दु धर्मावलम्वी छन् । २०६८ को जनगणनाले त्यही भन्छ । त्यसपछि बौद्ध र क्रिश्चियन छन् । २०६८ को जनगणना अनुसार गण्डकी प्रदेशमा हिन्दु धर्म मान्ने जनसंख्या कुल जनसंख्याको ८२.९० प्रतिशत रहेका छन् । अर्थात कुल २४ लाख जनसंख्यामा गण्डकीका १९ लाख ९२ हजार जनाले हिन्दु धर्म मान्ने गरेका छन् । यस्तै, प्रदेशमा १३.६८ प्रतिशत बौद्ध धर्मावलम्वी छन भने तेश्रोमा क्रिश्चियन धर्म मान्नेको संख्या १.५६ प्रतिशत रहेको छ ।
तर, गतसाल तमु ल्होसारबाट बिदाको सुरुवात गरेको गण्डकी सरकारले यसपटक पनि जनैपूर्णिमामा बिदा दिएन । गण्डकी सरकारले पहिलोपटक गतसाल तमु ल्होसारमा बिदा दिएको थियो । मन्त्रिपरिषदले निर्णय नगर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गृहजिल्ला लमजुङको एक कार्यक्रममा पुगेर बिदा दिने उद्घोष गरेका थिए । तर, जनैपूर्णिमामा भने गतसाल पनि बिदा दिईएको थिएन ।
प्रदेशले बिदा नदिएतापनि गण्डकीमा स्थानीय तहहरु आफैले बिदाको घोषणा गरेका छन् । स्थानीय तहले बिदा दिन पाउँदैनन् । संघको हकमा गृहमन्त्रालयले वार्षिक बिदा तय गर्दछ भने प्रदेश सरकारलाई भने संघका कार्यालय समेत बन्द रहने गरि ६ दिनसम्म बिदा दिन पाउने अधिकार दिईएको छ । यसअघि प्रदेशको बिदा संघले नमान्ने अवस्था रहँदा अब भने स्थानीय तहको बिदा संघ र प्रदेशले नमान्ने भएका छन् ।
पर्वतका सातैवटा स्थानीय तहले बिहिबार जनैपूर्णिमाको लागि बिदा दिने घोषणा गरेका छन् । बाग्लुङमा पनि जैमिनि नगरपालिका र बाग्लुङ नगरपालिकाले बिदा दिएको छ ।
तर, स्थानीय तहले बिदा दिएतापनि प्रदेश तथा संघ मातहतका कार्यालय भने खुलै रहने जनाईएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार प्रदेश सरकारले बिदा नदिएको हुँदा प्रदेश कार्यालय खुलै रहनेछन् । प्रदेश सरकारका खानेपानी, सिँचाई, सडक, कृषि लगायतका कार्यालयहरु विभिन्न जिल्लामा छन् । ती कार्यालय भने बिदा हुने छैनन् ।
यस्तै, संघ मातहतका जिल्ला प्रशासन, मालपोत लगायतका कार्यालयमा पनि बिदा नहुने भएको छ । पर्वतका सातैवटा स्थानीय तहमा बिदा भएतापनि जिल्ला प्रशासन कार्यालय भने बन्द नहुने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिईन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ गण्डकी प्रदेशले बनाएको स्थानीय तहको सभा सञ्चालन सम्बन्धि ऐनमा स्थानीय तहको बिदाको बारेमा कुनै व्यवस्था छैन् । स्थानीय तहले बिदा दिन पाउने कहिँकतै उल्लेख पनि छैन् ।
तर, स्थानीय सरकार आफैले आफ्नो क्षेत्रमा बिदा दिन पाउने विहादी गाउँपालिकाका कार्यकारी अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।
“स्थानीय सरकारले आफ्नो क्षेत्रमा बिदा दिन पाउँछ भन्ने लजिक लगाएका हौँ” उनले भने ।
यस्तै, प्रदेश राजधानी भित्रको पोखरा महानगरले पनि सार्वजनिक बिदा दिएको छैन् ।
यसअघि प्रदेश सरकारको बिदाको बारेमा पनि अन्योल भएपछि प्रधानमन्त्रीको अध्यक्षतामा सञ्चालन हुने अन्तर प्रदेश परिषदको बैठकले प्रदेश सरकारलाई ६ दिनसम्म बिदा दिन पाउने अधिकार र उक्त बिदा संघका कार्यालयले समेत मान्ने सहमति भएको थियो ।
प्रदेश सरकारलाई आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक उत्सव र पर्वमा आवश्यकता हेरि बढिमा ६ दिनसम्म बिदा दिन पाउने अधिकार छ ।
तर, गण्डकी प्रदेश सरकारले भने हिन्दुबाहुल्य गण्डकी प्रदेशमा भने जनैपूर्णिमामा बिदा दिएको छैन् । बिदा नदिएकोप्रति सामाजिक सञ्जालमा गण्डकी सरकारप्रति तीव्र असन्तुष्टि पोखिएका छन् । गण्डकी सरकारले जनगुनासो सुन्न सञ्चालन गरेको कार्यक्रम हेलो सिएममा फोनमार्फत बिदा माग गरिएको छ ।
मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना जारी गर्दै “जातजाति तथा समुदाय बिच आपसी सद्भाव प्रगाढ बनाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध प्रदेश निर्माण गर्ने प्रेरणा प्रदान गर्ने विश्वास” लिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->